धार्मिक पर्यटनलाई प्रवद्र्धन गर्न वीरगंज पिपराको पशुपतिनाथ मन्दिरमा महाआरती गरिँदै

वीरगंज । महाशिवरात्रि पर्वको अवसरमा धार्मिक पर्यटनलाई प्रवद्र्धन गर्ने उद्देश्यले वीरगंजको वडा नम्बर १४ पिपरामा रहेको पशुपतिनाथ मन्दिरमा आउँदो फागुन १ गते महाआरती गरिने भएको छ ।
महाआरतीका लागि मन्दिरको सौन्दर्यीकरण गर्ने कार्य तीव्र पारिएको छ । भारतको काशी विश्वनाथका मुख्य पुजारी, काठमाडौँ स्थित आरध्यदेव पशुपतिनाथ मन्दिरका भट्ट र जनकपुरधाम स्थित जानकी मन्दिरका महन्थको संयुक्त उपस्थितिमा महाआरती गर्न लागिएको महानगरपालिकाले जनाएको छ ।
वीरगञ्जमै पहिलो पटक तीनै धामका पुजारीलाई बोलाएर महाआरती आयोजना गर्न लागिएको हो । वीरगञ्ज महानगरपालिका र विश्व हिन्दु परिषद्को संयुक्त आयोजनामा महाआरती सफल बनाउन आवश्यक तयारी अघि बढाइएको छ ।

वीरगंजलाई धार्मिक पर्यटकीय गन्तव्यको केन्द्र बनाउने गरी वीरगञ्ज महानगरपालिकाले काम गरिरहेको महानगरका मेयर राजेशमान सिंहले बताउनुभयो । महानगरले माइस्थान मन्दिर क्षेत्रलाई यस अघि नै सौन्दर्यीकरण गर्न सुरु गरिसकेको छ ।
माइस्थान क्षेत्रमा बाँकी रहेको लाइटिङ र गार्डेनिङको काम चाँडै सम्पन्न गर्ने गरी काम भइरहेको नगर प्रमुख सिंहले जानकारी दिनुभयो । तराईमै एक मात्र रहेको पशुपति नाथ मन्दिर सौन्दर्यीकरण गरेर यसको पहिचान स्थापित गर्न पनि नेपाल भारत दुवै देशका प्रख्यात धामका मुख्य पुजारी बोलाएर महाआरती गर्न लागिएको हो । काठमाडौँको पशुपति नाथ मन्दिरसम्म जान नसक्ने भक्तजनहरू पिपरामा रहेको पशुपति मन्दिरमा पुगेर पूजा अर्चना गर्न सक्ने छन् ।








प्रतिक्रिया राख्नुहोस्