तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रपति रनिङ्ग शिल्ड तथा मेयर कपको उपाधि शिवशङ्कर माविलाई

जाजरकोट । भेरी नगर व्यापी राष्ट्रपति रनिङ्ग शिल्ड तथा चौँथो मेयर कप प्रतियोगिताको उपाधि शिवशङ्कर मावि जगतिपुरले उचालेको छ ।

खलङ्गास्थित त्रिभुवन माविको खेल मैदानमा भेरी नगरपालिकाले माघ २२ गतेदेखि सञ्चालन गरेको प्रतियोगितामा ११ स्वर्ण, ५ रजत र ५ कास्य गरी कुल २१ पदक प्राप्त गरी प्रथम हुँदै शिवशङ्कर माविले राष्ट्रपति रनिङ शिल्ड तथा चौँथो मेयर कपको उपाधिसहित नगद पुरस्कार ४० हजार हात पारेको हो ।

त्यसैगरी, ६ स्वर्ण, ५ रजत र ६ कास्य पदकसहित कुल १७  पदक प्राप्त गर्दै भेरी त्रिवेणी मावि रिम्ना दोस्रो र ५ स्वर्ण, ५ रजत र ४ कास्य पदकसहित १४ पदक प्राप्त गर्दै भगवती मावि कुदु तृतीय भएका छन् । दोस्रो र तृतीय हुने विद्यालयले क्रमशः  ३० हजार र २० हजार नगद पुरस्कार प्राप्त गरेका छन् ।

तेक्वान्दो, उसु, एथलेटिक्स, कराते, भलिबल र कबड्डी खेल समावेश भएको प्रतियोगितामा नगरपालिकाभित्रबाट १० विद्यालयका करिब २ सय छात्र÷छात्राहरूको सहभागी रहेको थियो ।

बिहीबार पुरस्कार वितरण गर्दै नगरप्रमुख चन्द्र प्रकाश घर्तिले विजेता छात्र÷छात्राहरूलाई रनिङ शिल्ड, प्रमाणपत्र, मेडल र नगद पुरस्कार प्रदान गर्नुभयो । 

उहाँले युवाहरूलाई खेलकुदतर्फ आकर्षित गर्न नगरपालिकाले विद्यालयलाई खेलकुदमैत्री बनाउने र खेलको विकास गर्दै नगरपालिकाबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्न नगरपालिका लागिपरेको बताउनुभयो ।

नगरपालिकाले आयोजना गरेको विभिन्न खेलहरूमा विद्यालयले प्राप्त गरेको पदकका आधारमा प्रथम, दोस्रो र तृतीय छनोट गरिएको नगरपालिकाको शिक्षा तथा खेलकुद शाखाका प्रमुख अमृत बहादुर पुनले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button