तपाईँ सुन्दै हुनुहुन्छः

आर्थिक समृद्धि र विकासलाई तीव्रता दिन आवश्यक: उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौँ। उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले जनताले अनुभव गर्ने गरी विकासलाई तीव्रता दिने वर्तमान सरकारको नीति रहेको बताउनुभएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आज आयोजित साक्षात्कार कार्यक्रममा उपप्रधानमन्त्री श्रेष्ठले सरकारको नीति अनुसार भौतिक पूर्वाधार विकासमार्फत जनताको जीवनमा परिवर्तनको अनुभव दिलाउने गरी काम गर्न चाहेको बताउनुभयो ।

उहाँले प्राप्त परिवर्तन र उपलब्धिसँगै जनताले आफैले अनुभव गर्ने गरी आर्थिक समृद्धि र विकासलाई तीव्रता दिन आवश्यक रहेको बताउनुभयो । उपप्रधानमन्त्री श्रेष्ठले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सामूहिक निर्णय र व्यक्तिगत जिम्मेवारीका आधारमा काम गर्ने गरी अघि बढेको जानकारी दिनुभयो ।

उहाँले भौतिक पूर्वाधार निर्माणलाई एकीकृत प्रणालीमार्फत सुधार गर्दै लैजान सम्बद्ध निकायका प्रमुखहरूसहितको प्रत्येक दुई हप्तामा एउटा छलफल गर्ने व्यवस्था गरिएको जानकारी समेत दिनुभयो ।

उपप्रधानमन्त्री श्रेष्ठले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गरिरहेको काम सुधारका लागि कमी कमजोरी औँल्याइदिन आग्रह गर्नुभयो । मन्त्रालयका सचिव केशवकुमार शर्माले जनसरोकारका विषयमा सूचना दिन मन्त्रालय सधैँ सहयोगी र तत्पर रहेको बताउँदै यथार्थ र सत्य समाचार सम्प्रेषणका लागि आग्रह गर्नुभयो ।

कार्यक्रममा मन्त्रालयका महाशाखा प्रमुखहरू, मातहतका विभागका विभागीय प्रमुख लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button