दलित विकास समिति र वादी समुदाय उत्थान विकास समिति यथावत् राख्न माग गर्दै ज्ञापनपत्र पेस

काठमाडौँ । दलित विकास समिति र वादी समुदाय उत्थान विकास समिति यथावत् राख्न माग गर्दै दलित सङ्गठनहरूले सरकारलाई ज्ञापनपत्र पेस गरेका छन् । उनीहरूले आज संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीलाई ज्ञापनपत्र पेश गरेका हुन् ।
नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र लगायतका नेताहरूले उक्त ज्ञापनपत्र पेश गरेको नेपाल उत्पीडित जातीय मुक्ति समाजका सचिव नरेश विश्वकर्माले बताउनुभयो । ज्ञापनपत्रमा दलित विकास समितिलाई सक्रिय बनाई त्यहाँ कार्यरत कर्मचारीहरूको तलब भुक्तानी गर्नुपर्ने, दलित समुदायको पक्षमा काम गर्ने अन्य संरचना नभएकाले उक्त संरचनाहरूलाई सक्रिय गराई दलित विकास प्राधिकरण निर्माण गर्न विधेयक ल्याउनुपर्ने तथा वादी समुदाय उत्थान समितिलाई क्रियाशील बनाएर कर्मचारीको तलब निकासा गर्दै पदाधिकारीहरूको नियुक्ति प्रक्रिया अघि बढाउन माग गरिएको छ ।
ज्ञापनपत्र कांग्रेस महामन्त्री जीवन परियार, एमाले नेता जितु गौतम, नेकपा माओवादी केन्द्रका दलजीत श्रीपाइली लगायतका नेताहरूले बुझाएका हुन् ।







प्रतिक्रिया राख्नुहोस्