कैलालीमा छोराद्वारा आमाको हत्या

टीकापुर, कैलाली । कैलालीमा छोराले आमाको हत्या गरेका छन् । लम्कीचुहा नगरपालिका वडा नम्बर ६ बाघमाराका श्रीराम थारुले गएराति १२ बजेतिर आफ्नै आमालाई बञ्चरो प्रहार गरी हत्या गरेको खुलेको छ ।
४० वर्षका थारुले ७१ वर्षिया आमा लगनीदेवीलाई बञ्चरो प्रहार गरी घाइते बनाएका थिए । आमालाई घाइते बनाएपछि अन्य छोराहरूले आमालाई उपचारका लागि लालरत्न अस्पताल लम्की लगेको र त्यहाँ उपचार हुन नसकेपछि नवजीवन अस्पताल धनगढी लैजाँदै गर्दा मृत्यु भएको खुलेको छ ।
परिवारले आज बिहान साढे आठ बजेतिर प्रहरीलाई खबर गरेपछि खटिएको प्रहरी टोलीले देउराली सामुदायिक वनमा लुकेर बसेको अवस्थामा उनलाई पक्राउ गरिसकेको इलाका प्रहरी कार्यालय लम्कीका प्रमुख, प्रहरी निरीक्षक शङ्कर खडकाले जानकारी दिनुभएको छ ।
बञ्चरो प्रहार गरी घाइते बनाएका श्रीराम भागेको र आमाको पनि ज्यान गएपछि दाजु रामलाल थारुले प्रहरी कार्यालयमा जाहेरी दिनुभएको थियो । आमासँग पैसा मागेको र नदिएको निहुँमा खुट्टा र ढाडमा बञ्चरो प्रहार गरी सख्त घाइते बनाएका थिए ।
मृतक लगनीका छ छोरा रहेका पाचौं नम्बरका छोरा श्रीराम यसअघि आफ्नै दाजुलाई आक्रमण गरेकाले ज्यान मार्ने उद्योगमा जेल सजाय काटेर फर्केका व्यक्ति समेत रहेका निरीक्षक खड्काले बताउनु भयो ।








प्रतिक्रिया राख्नुहोस्