बाढी प्रभावित क्षेत्रको पुन: निमार्ण बारे उपप्रधानमन्त्री पौडेल ध्यानाकर्षण

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्ची लगायत बाढी प्रभावित क्षेत्रको पुन निमार्णबारे नेकपा एमालेले उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेललाई ज्ञापनपत्र बुझाएको छ ।
सिन्धुवासीका साझा मुद्दाहरूमा नेपाल सरकारको ध्यानाकर्षण गराउन एमाले सिन्धुपाल्चोकका नेताहरू बिहीबार सिंहदरबारमा पुगेका हुन् ।
प्राकृतिक प्रकोपको निरन्तर चपेटामा परेको तर अस्थायी टहरा बनाउने खर्च समेत दुई वर्षसम्म नपाएको, अधिकांश बिस्थापितहरुको पुनर्वास नभएको, प्रचलित कानुनी व्यवस्थालाई सम्बन्धित निकायहरूले बेवास्ता गरेको र जुरे पहिरोको समस्या ७÷८ वर्षसम्म नसुल्झाएको भन्दै एमाले नेताहरूले अर्थमन्त्रीलाई ज्ञापन पत्र बुझाएका हुन् ।
ज्ञापनपत्रमा लोकतन्त्र र गणतन्त्र स्थापना पछि पनि हजारौँ परिवारले पुस्तौँ जोतेको जमिन गुठीको कारण धन पुर्जा पाउन नसकेको, तातोपानी व्यापार पुर्वतः रुपमा सञ्चालन गर्न आवश्यक पहलकदमी आवश्यक रहेको र भूकम्पबाट क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माण सन्तोषजनक नभएको उल्लेख छ । यसैगरी जिल्लामा सञ्चालित खरिढुङ्गा उद्योग अलपत्र पारिएको लगायतका मुद्दाहरू प्नि एमालेको जिल्ला नेतृत्वले उठाएका छन् ।
विशेषगरी बाढी र पहिरो र भूमिहीन किसानको समस्या लिएर आफूहरू अर्थमन्त्रीकोमा पुगेको एमाले स्थायी कमिटी सदस्य शेरबहादुर तामाङले जानकारी दिनुभयो ।
लिखित र मौखिकरुपमा उठाईका अन्य गेम चेन्जर विकास आयोजना प्रति पनि ध्यानाकर्षण गराइएको केन्द्रीय सदस्य सरेश नेपालले जानकारी दिनुभयो । जिल्लाका एमालेका सबै अगुवा नेताहरूको उपस्थित रहेको भेटमा अर्थमन्त्रीले मेलम्ची क्षेत्रमा गएको बाढी तथा पहिरोले भएको क्षतिप्रति सरकार गम्भीर रहेको बताउनुभयो । उहाँले ज्ञापनपत्रमा उल्लेख भएका सम्पूर्ण मागहरूप्रति सम्बन्धित निकायसँग समन्वय गरि पुन निर्माणको प्रक्रिया अगाडि बढाउने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।







प्रतिक्रिया राख्नुहोस्