मन्त्री राईद्वारा आगलागी पीडितलाई सहयोग

धनकुटा । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री राजेन्द्र राईले धनकुटाको सिंधुवा बजारका आगलागी पीडितहरूलाई मन्त्री राईले आफ्नो मासिक तलबबाट आर्थिक सहयोग गर्नुभएको छ ।
मन्त्री राईले छथर जोरपाटी गाउँपालिका वडा नं. ६ स्थिति सिंधुवा बजारमा पुगेर आठ जना पीडितलाई नगद ५५ हजार रुपैंया सहयोग गर्नुभएको हो। सहयोग हस्तान्तरणमा बोल्दै मन्त्री राईले आगजनीमा नष्ट भएको घर आफ्नो पहलमा बनाइदिने प्रतिबद्धता जनाउनुभयो।

मन्त्री राईले आगलागी पीडितहरू झमक थापालाई १५ हजार, सन्तबहादुर राईलाई १० हजार र लिला थापा, डिकबहादुर खड्का, ललित राई, डम्बरबहादुर थापा, अर्जुन घिमिरे र यमन मगरलाई जनही पाँच/पाँच हजार नगद प्रदान गर्नुभएको हो । गएको पुस ३० गते राती आगलागी हुँदा छथर जोरपाटी गाउँपालिका वडा नं. ६ स्थित सिंधुवा बजारका ५ घर जलेर नष्ट हुँदा ४९ लाख बराबरको क्षति भएको थियो ।
यस्तै धनकुटाको छथर जोरपाटीमा भएको कार्यकर्ता भेटमा मन्त्री राईले भूमि आयोग गठन गरेर नेपालमा रहेका १४ हजारभन्दा बढी भूमिहीनहरूको समस्या समाधान गरिने बताउनु भयो। धनकुटाको भूमि सम्बन्धी समस्या समाधान गर्न जिल्लाका मालपोत अधिकृत र नापी अधिकृतसँग छलफल भइरहेको मन्त्री राईले बताउनु भयो ।









प्रतिक्रिया राख्नुहोस्