जनकपुरधामका दुई युवाको भारतमा अपहरणपछि हत्या, अनुसन्धानका लागि पाँच जना पक्राउ
जनकपुरधाम । जनकपुरधामका दुई युवाको अपहरणपछि भारतमा हत्या गरिएको छ ।
उनीहरूको घाँटी थिचेर हत्या गरी खाडलमा पुरेको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
जनकपुरधाम उपमहानगरपालिका– ८ का १९ वर्षीय रोहितकुमार साह र वडा नम्बर १३ पिडारीको पछियारी टोलका २२ वर्षीय विष्णु साहको भारतको बिहारमा अपहरणपछि हत्या भएको हो ।
दुवै जना पुस २७ गते आफन्तको भोज खान गएका बेला अपहरणमा परेको र ५० लाख रुपैयाँ फिरौती मागिएको थियो । परिवारजनले ५० लाख फिरौती मागिएको भन्दै यही माघ ४ गते प्रहरीमा उजुरी दिएका थिए ।
भारतीय प्रहरीसँग मिलेर अनुसन्धान गर्दा बिहारको सितामढीमा खाडलमा गाडिएको अवस्थामा दुवै जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिनुभयो ।
यसैबीच, अपहरणपछि हत्या घटनामा संलग्न भएको आशङ्कामा भारतीय प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
नेपाल प्रहरीले पनि अन्य दुई जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको प्रहरी नायब उपरीक्षक क्षेत्रीले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्