तपाईँ सुन्दै हुनुहुन्छः

हुलाकी सडक निर्माणको कामले गति लिँदै 

विराटनगर ।  पूर्व पश्चिम तथा दक्षिण क्षेत्रलाई मुख्य राजमार्गसँग जोडने गरी निमार्ण शुरु गरिएको हुलाकी सडकको ७०  प्रतिशतभन्दा बढी काम सम्पन्न भएको छ । 

मोरङ, सुनसरी तथा सप्तरी जिल्लामा ३ सय ३२ किलोमिटर हुलाकी सडक निर्माण भइरहेकोमा त्यसमध्ये ७० प्रतिशतभन्दा बढी काम सम्पन्न भएको हो । 

सप्तरीदेखि झापाको भद्रपुरसम्म निर्माण भइरहेको पूर्व–पश्चिम हुलाकी सडकको काम   आगामी १  बर्ष भित्रमा सञ्चालनमा आउने गरी काम भइरहेको हुलाकी सडक योजना कार्यालय इटहरीले जनाएको छ । 

राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको उक्त  सडक एक वर्षमा चार लेनमा विस्तार हुने जनाइएको छ  ।

हुलाकी सडकको काम अहिले तीव्र गतिमा अघि बढेको हुलाकी सडक योजना कार्यालय इटहरीका प्रमुख विजयकुमार थापाले बताउनुभयो । दशै तिहार जस्ता पर्व तथा निर्वाचनका कारण केही काम ढिलाइ भएपनि अहिले आएर कामले गति लिएको र बजेटको समेत अभाव नरहेको कार्यालय प्रमुख थापाको भनाई छ । 

 ३ सय ३२ किलोमिटर हुलाकी सडक खण्ड अन्तर्गत ठुला ठुला आठ वटा पुलको निमार्ण कार्य सम्पन्न भइसकेको  छ । २४ वटा पुलमध्ये ८ वटा पक्की पुलको निर्माण सम्पन्न भएको हो । 

लामो समयदेखि गति लिन नसकेको हुलाकी सडकको कामले तीव्रता पाएपछि सर्वसाधारण समेत उत्साहित भएका छन् । रङ्गेली नगरपालिका क्षेत्रमा पर्ने बेतौनाको चेका खोलादेखि मधुवन्नी सम्मको हुलाकी सडकको प्राय सबै काम सम्पन्न हुने अवस्थामा छ भने बेतौना चोकदेखि विराटनगर सम्मको सडकको काम भने शुरुआती चरणमा छ । 

मोरङको केशलिया खोलादेखि मोरङ–झापाको सिमानमा रहेको रतुवा खोलासम्मको ४४ किलोमिटर सडकमा धमाधम काम भइरहेको छ । सो क्षेत्रमा पर्ने सबै सडक भत्काएको अवस्था छ ।  सडक समयमा सम्पन्न नहुँदा आवतजावतमा समस्या भएकाले  सम्बन्धित निकायको ध्यान जानुपर्ने रङ्गेली ७ का कमलेश कुमार मण्डलको भनाई छ । रङ्गेली–विराटनगर सडकमा निमार्णको काम भइरहेकाले सडकमा धुलो उड्ने र सडक खाल्टाखुल्टी हुँदा बिरामीलाई ल्याउन लैजान समेत समस्या भएको  मण्डलको भनाई ।  

त्यस्तै, हुलाकी सडक अन्तर्गत पूर्व–पश्चिम राजमार्गलाई जोडने रङ्गेली–कानेपोखरी  सडकको निमार्ण कार्य अन्तिम चरणमा छ । २६ किलो मिटर लामो उक्त सडक खण्डको गेरुवा खोलामा पुल नबन्दा सडकले पूर्णता पाउन सकेको छैन । लामो समयदेखि अलपत्र अवस्थामा रहेको सो पुल नबन्दा वर्षायाममा सवारी साधन तथा सर्वसाधारणलाई आवतजावतमा समस्या हुने गरेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button