तपाईँ सुन्दै हुनुहुन्छः

स्थानीय पाठ्यपुस्तक लागू गर्नेमा बर्दघाट जिल्लामै पहिलो

नवलपरासी । बर्दघाट नगरपालिकाले आधारभूत तहमा आफ्नै पाठ्यपुस्तक लागू गरेको छ। कक्षा १ देखि ८ सम्म स्थानीय पाठ्यक्रम लागु गर्दै विद्यार्थीहरूलाई निःशुल्क स्थानीय पाठ्यपुस्तक वितरण गरेको हो।

नगरको पहिचानलाई विद्यालय तहदेखि नै जानकारी गराउने उद्देश्यले स्थानीय पाठ्यक्रम लागू गर्दै पाठ्यपुस्तक प्रकाशन समेत गर्ने बर्दघाट नगरपालिका जिल्लाको पहिलो स्थानीय तह बनेको नगरले जनाएको छ।

‘हाम्रो बर्दघाट’ नाम दिइएको स्थानीय पाठ्यक्रमको आधारमा ‘हाम्रो बर्दघाट’ पाठ्यपुस्तक कक्षा एक देखि आठ सम्म कार्यान्वयन गरिएको शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख लोकराज पन्थीले जानकारी दिनुभयो। 

पाठ्यपुस्तकमा स्थानीयस्तरमा रहेका पर्यटकीयस्थल, कला, संस्कृति, प्राकृतिक सम्पदा, भाषा, रहनसहन, अन्न उत्पादन, जडीबुटीलगायत बर्दघाटको समग्र क्षेत्र समेटिएको छ ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले स्थानीय तहले स्थानीय पाठ्यक्रम निर्माण गरेर पाठ्यपुस्तक लागू गर्न सक्ने व्यवस्था गरेकोले पाठ्यपुस्तक प्रकाशन गरेर विद्यार्थीहरूलाई निःशुल्क वितरण गरेको नगर प्रमुख शम्भुलाल श्रेष्ठले बताउनुभयो । नगरको पहिचान प्रवद्र्धन गर्ने उद्देश्यले स्थानीय पाठ्यपुस्तक लागू गरिएको नगर प्रमुख श्रेष्ठको भनाई छ। कक्षा १ देखि ८ सम्म अनिवार्य विषयका रूपमा १०० पूर्णाङ्कको स्थानीय पाठ्यपुस्तक पढाइ सुरु गरिएको हो ।

साथै, उपप्रमुख रुद्र प्रकाश उपाध्यायले विद्यालयले स्थानीय पाठ्यपुस्तक अध्ययन गराउने र नगराउने सम्बन्धमा समेत निरन्तर अनुगमन गर्ने जानकारी गराउनुभयो ।

पाठ्यपुस्तकको लेखक तथा सम्पादकहरू डा‍. घनश्याम न्यौपाने परिश्रमी, डा. शालिकराम पौड्याल, डा. प्रेम प्रसाद तिवारी र शेषकान्त पौडेल रहनुभएको छ । स्थानीय पाठ्यपुस्तक हाम्रो बर्दघाटको आवरणमा स्थानीय बुद्धमंगलताल, संसारकोटलगायतका पर्यटकीय स्थलका तस्बिरहरू समेत प्रकाशन गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button