तपाईँ सुन्दै हुनुहुन्छः

माघे औँसी  स्नान गर्न  त्रिवेणीमा भक्तजनको आगमन

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरको विनयी त्रिवेणी गाउँपालिका ६ मा पर्ने पवित्र तीर्थस्थल त्रिवेणीमा माघे औँसी स्नान गर्न भक्तजनहरू आउने क्रम सुरु भएको छ ।

यस वर्षको औँसी भोलि परेको छ । प्रत्येक वर्ष माघे औँसीमा यहाँ स्नानका लागि  नेपाल र भारतबाट भक्तजनहरू आउने गर्दछन् । औँसीमा यहाँ मेला समेत लाग्ने गर्दछ । मेला हिजोबाट नै सुरु भएको छ । तीन दिनसम्म मेला लाग्नेछ । गएको दुई वर्ष कोभिडका कारण मेला लागेको थिएन । यस वर्ष  मेलाको आयोजना गरिएको छ । मेलामा फूलप्रसाद देखि मरमसला ,स्थानीय उत्पादन र दैनिक उपभोग्य सामाग्री राखिएका छन् भने, डुङ्गा सयरको समेत व्यवस्था गरिएको छ । 

सोन भद्र, पूर्ण भद्र र नारायणी नदीको संगम स्थल  त्रिवेणीमा  माघे  औँसीको दिन  पूजाअर्चना र स्नान गर्दा पुण्य प्राप्त  हुने, विभिन्न प्रकारको रोगहरू निको हुने र पाप नास हुने, मनमा चिताएको कुराहरू पूरा  जनविश्वास रहिआएको छ । यहाँ परापूर्वकालदेखि नै स्नान र पूजाअर्चनाका लागि भक्तजनहरू आउने गरेको वडा नं. ६ का अध्यक्ष नुरेन्द्र शाहले बताउनुभयो । यहाँ स्नानका लागि आउने भक्तजनहरू ८० प्रतिशत भारतको यूपी र बिहारबाट आउने गरेको शाहले जानकारी दिनुभयो । यस वर्ष करिब १५ हजार भक्तजनहरू पूजाअर्चना र स्नानका लागि आउने अनुमान गरिएको उहाँले बताउनुभयो । 

औँसीमा आउने भक्तजनहरूको सुरक्षालाई ख्याल राख्दै सशस्त्र प्रहरीको विपद् व्यवस्थापन टोली तयारी अवस्थामा राखिएको र अन्य सुरक्षा  व्यवस्था पनि मजबुत पारिएको अध्यक्ष शाहले बताउनुभयो । नेपाल प्रहरी,सशस्त्र प्रहरी, ट्राफिक प्रहरी र नेपाली सेना समेत गरेर करिब एक सय जना सुरक्षाकर्मी परिचालन गरिएको उहाँले बताउनुभयो । ट्राफिक व्यवस्थापन गर्न वडा नं. ७ को रानीनगरमा र ६ विद्यालयको चउरमा व्यवस्थापन गरिएको छ । नुहाउने घाटलाई व्यवस्थित गरिएको छ । यहाँ आएका भक्तजनहरू डुङ्गा चढेर  नारायणी नदी पार गरी वाल्मीकि आश्रम समेत जान्छन् । यहाँ आएका तीर्थालुहरूले  नजिकै रहेको गजेन्द्र मोक्षधाम, लक्ष्मीनारायण मन्दिरको दर्शन र  शीश महल अवलोकन  समेत गर्छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button