तपाईँ सुन्दै हुनुहुन्छः

विमान दुर्घटना : १० नेपाली र दुई कोरियन नागरिकको शव बुझाइयो

काठमाडौं । गत आइतबार पोखरामा भएको विमान दुर्घटनामा मृत्यु भएकामध्ये ४९ जनाको शव काठमाडौं ल्याइएकामा १२ जनाको परीक्षण (पोष्टमार्टम) गरी आज परिवारलाई बुझाइएको छ ।

माघ १ गते आइतबार काठमाडौंबाट पोखरातर्फ उडेको यती एयरलाइन्सको नाइन एन–एएनसी–एटिआर–७२–५०० विमान दुर्घटनामा परेर मृत्यु भएका ७१ मध्ये २२ जनाको शव पोखरामा नै परीक्षण गरी आफन्तलाई बुझाइएको थियो ।

काठमाडौंस्थित त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएका ४९ मध्ये १२ जनाको शव परीक्षण गरी आज सम्बन्धित परिवार र नेपालस्थित कूटनीतिक नियोगमा जिम्मा लगाइएको यती एयरलाइन्सले जनाएको छ ।

जिम्मा लगाइएकामध्ये १० नेपाली र दुई शव कोरियन नागरिकको रहेको छ । पहिचान खुलेका बाँकी शव पनि परीक्षण गरेर सम्बन्धित परिवारलाई जिम्मा लगाउने तयारी भइरहेको छ ।

पहिचान नखुलेका शवको भने डीएनए परीक्षण गरेर मात्र मृतकका परिवारलाई बुझाइने छ ।

चालक दलका सदस्यसहित ७२ जना सवार उक्त विमान दुर्घटनामा ७१ जनाको मृत्यु भएको पुष्टि भएको छ भने एक जनाको अवस्था अज्ञात छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button