तपाईँ सुन्दै हुनुहुन्छः

टीकापुर महोत्सव शुरु

कैलाली । कैलालीको टीकापुरमा टीकापुर महोत्सव शुरु भएको छ । टीकापुर उद्योग वाणिज्य सङ्घको आयोजनामा शुरु भएको महोत्सव यही माघ १५ गतेसम्म चल्ने छ ।

महोत्सवको प्रतिनिधिसभा सदस्य तथा नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जीता श्रेष्ठले उद्घाटन गर्नुभयो । महोत्सवको उद्घाटन गर्दै अध्यक्ष श्रेष्ठले टीकापुर उद्योग वाणिज्य सङ्घले राखेका मागमा आफ्नो ध्यानाकर्षण भएको बताउँदै माग सम्बोधन गर्न यथासक्य पहल गर्ने बताउनुभयो ।

अर्का प्रतिनिधि सभा सदस्य लालवीर चौधरीले अब भाषण नभई काम गर्ने बेला आएको बताउनुभयो । उहाँले अब जनताले भाषण नसुन्ने भएकाले काम गरेर देखाउनु पर्ने बताउनुभयो ।

आयोजकले प्रत्येक पटक महोत्सव मार्फत विभिन्न किसिमका माग राख्ने गरेको छ । यस पटक पनि टीकापुर हवाई मैदान सञ्चालन, यातायात कार्यालय र आयल निगमको डिपो स्थापना, केराको पकेट क्षेत्र घोषणा, औद्योगिक क्षेत्र घोषणा, चिसापानी कुइने जङ्गल घाट सडक निर्माण, कर्णाली नदी व्यवस्थापन गर्न तटबन्ध गर्नुपर्ने लगायतका माग राखेको छ ।

२०६५ सालबाट टीकापुरमा महोत्सव आयोजना गर्न थालिएको हो । यस पटक गरी टीकापुरमा ११ पटक महोत्सव आयोजना भएको हो ।

आन्तरिक पर्यटन प्रवर्द्धन, मनोरञ्जनसँगै व्यापारिक विकास र टीकापुरका सम्भाव्यताको खोजी हुने अपेक्षा गरिएको महोत्सव यही माघ १५ गतेसम्म सञ्चालन हुने छ । महोत्सवमा १५० ओटा स्टल राखिएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button