स्वास्थ्य संस्थाकै पानीमा कोलिफर्मका जीवाणु फेला

पाल्पा । पाल्पाका स्वास्थ्य संस्थामा प्रयोग हुने पानीमा कोलिफर्मका जीवाणु फेला परेको छ । जिल्लाका रिब्दीकोट, तिनाउ, बगनाकासकाली र माथागढीका स्वास्थ्य संस्थामा बिरामीले पिउने पानीको जाँच गर्दा पानी दूषित रहेको पुष्टि भएको हो । पानीमा इकोली र कोलिफर्मका जीवाणु फेला परेका स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।
स्वास्थ्य कार्यालय पाल्पाले रैनोदेवी छहराका दुई, तिनाउका दुई, माथागढीका दुई, बगनासकालीका एक, तानसेनका एक र रिव्दीकोटका दुई वटा स्वास्थ्य संस्थामा प्रयोग हुने पिउने पानीको जाँच गरेको थियो । नौ वटा स्वास्थ्य संस्था र एउटा व्यक्तिको घरको पिउने पानीको जाँच गरिएकोमा पाँच वटा स्थानमा प्रयोग हुने पानी दूषित भेटिएको स्वास्थ्य कार्यालय पाल्पाका ल्याब टेक्निसियन मधुसुधन भट्टराईले जानकारी दिनुभयो ।
रिव्दीकोटको कुसुमखोला स्वास्थ्य चौकी, तिनाउको दोभान स्वास्थ्य चौकी, माथागढीको रहबास स्वास्थ्य चौकी, माथागढीकै गोठादी स्वास्थ्य चौकीमा बिरामीले पिउन प्रयोग गर्ने पानीमा कोलिफर्म र इकोली जीवाणु भेटिएको हो । यस्तै बगनासकालीको एक घरमा प्रयोग भएको पिउने पानीको जाँच गर्दा समेत कोलिफर्म जीवाणु भेटिएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।
जिल्लाभरका २५ भन्दा बढी स्वास्थ्य संस्थामा प्रयोग हुने पिउने पानीको जाँच तथा सुधारका उपाय अपनाउन पानीको परीक्षण सुरु भइरहेको छ । सोही क्रममा केही स्वास्थ्य संस्थामा प्रयोग हुने पानी दूषित पाइएको हो ।
पानी दूषित भेटिएपछि दूषित भएको कारण पत्ता लगाउन र समस्या समाधान गर्न सहयोग पुग्ने स्वास्थ्य कार्यालयले जनाएको छ । केहीको मूल (स्रोत)मै पानी दूषित भएको पाइएको छ भने केहीको बीच भागमा पाइप फुटेर पानी दूषित भएको पाइएको हो । इकोली र कोलिफर्म जीवाणु जङ्गली जीवजन्तुका दिशामा समेत फेला पर्दछ ।








प्रतिक्रिया राख्नुहोस्