तपाईँ सुन्दै हुनुहुन्छः

‘विदेशमा रहेका नेपालीले भोग्नुपरेका कानूनी समस्या समाधान गर्छु’

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विदेशमा रहेका लाखौँ नेपालीको मन जित्ने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । उहाँले भन्नुभयो, “विदेशमा लाखौँ नेपाली छन्, मैले मेरो दोस्रो कार्यकालसम्म गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले उठाएका मागहरू सम्बोधनका लागि प्रयास गरेँ र अब मेरो तेस्रो कार्यकाल विदेशमा बस्ने बहुसङ्ख्यक नेपालीको मन जित्छु ।”

file photo

प्रधानमन्त्री निवास बालुवाटारमा आज गैरआवासीय सङ्घका प्रतिनिधिसँगको छलफलमा प्रधानमन्त्रीले भन्नुभयो, “नेपालका कतिपय परम्परागत ऐन कानून छन्, जसले म नेपालका लागि केही गर्छु भन्नेलाई पनि बाधा व्यवधान खडा गरेको छ, विश्वस्त पार्न चाहन्छु कि म त्यस्ता खालका पर्खाललाई भत्काउनेछु ।”

भेटमा प्रधानमन्त्री दाहालले नेपालमा विद्यमान कतिपय कानूनी प्रावधानले सिर्जना गरेका अप्ठ्यारालाई नेपाल सरकारले क्रमशः सच्याउँदै आएको र अबका दिनमा पनि कानूनी उल्झनलाई पन्छाउने प्रयास आफ्नो तर्फबाट जारी रहने बताउनुभयो ।

विदेशमा रहेका नेपालीले नेपाल र नेपालीको पहिचान विश्वमाझ पुर्‍याउन ठूलो भूमिका निर्वाह गरेको भन्दै गैरआवासीय नेपालीप्रति प्रधानमन्त्री दाहालले आभार व्यक्त गर्नुभयो । राजनीतिक, आर्थिक, सांस्कृतिक र सामाजिक रूपमा विश्वभर नेपाललाई चिनाउन नेपालीहरू थप संवेदनशील र जिम्मेवार बन्दै गएकोप्रति प्रधानमन्त्री दाहालले खुसी व्यक्त गर्नुभयो ।

भेटका क्रममा प्रधानमन्त्री दाहाललाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै सङ्घका तर्फबाट ज्ञापनपत्र हस्तान्तरण गरिएको थियो ।

सो अवसरमा गैरआवासीय नेपाली सङ्घका कार्यकारी अध्यक्ष रबिना थापाले हालसम्म सङ्घले गरिआएको काम, नेपाल सरकारका तर्फबाट सम्बोधन भइआएका विषय र आगामी दिनमा सरकारले गर्नुपर्ने नीतिगत र कानूनी सुधार सम्बन्धमा सङ्घका तर्फबाट धारणा राख्नुभएको थियो ।

सङ्घका अध्यक्ष बद्री केसीले नेपाल सरकारसहितको लगानी रहेको रु १० अर्बको लगानी कोष ‘एनआरएन नेपाल डेभलप्मेन्ट फन्ड’लाई अघि बढाउन देखापरेका कानूनी र व्यावहारिक कठिनाइबारे जानकारी गराउँदै ती कठिनाइलाई तत्काल सम्बोधन गर्न आग्रह गर्नुभयो ।

विदेशमा रहेका बहुसङ्ख्यक नेपालीलाई सामाजिक सुरक्षा कोषमा जोड्नुपर्ने, विदेशमा कामका सिलसिलामा अङ्गभङ्ग भएका नेपालीलाई स्वदेश फिर्ता गर्नाका साथै उनीहरूका परिवारलाई आर्थिक सहायतासहित पुनः एकीकरण लगायतका विषयमा नेपाल सरकारले पहलकदमी लिनुपर्ने लगायतका माग अध्यक्ष केसीले सङ्घका तर्फबाट राख्नुभएको थियो ।

सङ्घका अध्यक्ष कुल आचार्यले सङ्घले उठाएको गैरआवासीय नेपाली नागरिकताको मुद्दालाई तत्काल सम्बोधन गर्न अनुरोध गर्नुभयो । ‘एक पटकको नेपाली सदैव नेपाली’ हुने भन्दै अध्यक्ष आचार्यले विविध कारणले अन्योलमा परेको नागरिकताको विषयलाई यथाशक्य छिटो टुङ्गो लगाउन सङ्घका तर्फबाट आग्रह गर्नुभयो ।

भेटका अवसरमा पूर्व अध्यक्ष, भवन भट्ट, सङ्घका संस्थापक अन्तर्राष्ट्रिय संयोजक भीम उदास, सङ्घका उपाध्यक्ष आरके शर्मा, सचिव खगेन्द्र न्यौपाने, महिला सचिव राधिका गुरुङ, सह कोषाध्यक्ष नारायण सुवेदी, युवा संयोजक अब्दुल वसिद, सङ्घका पूर्व सल्लाहकार टिबी कार्की, क्षेत्रीय उपसंयोजक, (मध्यपूर्व) अमित चाम्लिङ राई, एनसिसी रसियाका अध्यक्ष शिवमणि भुर्तेल, आजीवन सदस्य (युएसए) नारायण थापा लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button