तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश एक र सुदूरपश्चिमको लगातार दोस्रो जीत

सुनसरी । प्रधानमन्त्री कप महिला टि–२० क्रिकेटमा प्रदेश १ र सुदूरपश्चिम प्रदेशले लगातार दोस्रो जित हासिल गरेका छन् ।

पहिलो खेलमा मधेश प्रदेशलाई पराजित गरेको प्रदेश एकले आज लुम्बिनी प्रदेशमाथि ९ रनको सङ्घर्षपूर्ण जित हात पारेको हो । इटहरीस्थित जनता क्रिकेट पार्कमा भएको खेल बाक्लो हुस्सुका कारण ९ ओभरका झारिएको थियो । टस जितेर पहिला ब्याटिङ गरेको प्रदेश एकले ९ ओभरमा ४ विकेट गुमाउँदै ५९ रन बनाएको थियो । ६० रनको लक्ष्य पछ्याएको लुम्बिनीले ९ ओभरमा ७ विकेट गुमाउँदै ५० रन मात्र बनाउन सफल रह्यो ।

आजै सम्पन्न दोस्रो खेलमा सुदूरपश्चिम प्रदेशले पनि लगातार दोस्रो जित निकालेको छ । उसले इटहरीको जनता क्रिकेट पार्कमा सम्पन्न खेलमा गण्डकी प्रदेशलाई नौ विकेटले पराजित गरेको हो ।

गण्डकीले प्रस्तुत गरेको ६१ रनको लक्ष्य सुदूरपश्चिमले ११ ओभरमा एक विकेट गुमाउँदै भेट्टायो । यसअघि टस जितेर ब्याटिङ रोजेको गण्डकीले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै ६० रनको योगफल तयार पारेको थियो ।

प्रतियोगिता अन्तर्गत मङ्गलवार पहिलो खेल कर्णाली र प्रदेश एक तथा दोस्रो खेल सुदूरपश्चिम र नेपाल एपीएफबिच हुनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button