तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश प्रहरी प्रमुखहरूलाई उच्च मनोबलका साथ काम गर्न निर्देशन

काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले प्रदेश प्रहरी प्रमुखको रूपमा सरुवा हुनुभएका प्रहरी नायब महानिरीक्षक (डिआइजी)हरूलाई उच्च मनोबलका साथ काम गर्न निर्देशन दिनुभएको छ ।

पुस २८ गते भएको सरुवापश्चात् जिम्मेवारी हेरफेर भएका डिआइजीहरूलाई सोमबार गृह मन्त्रालयमा निर्देशन दिनुहुँदै मन्त्री लामिछानेले कुनै राजनीतिक हस्तक्षेप बिना सङ्गठनले कार्यकुशलता हेरेर जिम्मेवारी हेरफेर गरेको बताउनुभयो ।

विगतमा सरुवालाई सजायको रूपमा लिने गरिएको भएता पनि यस पटक कार्यकुशलता नै हेरेर जिम्मेवारी तोकिएको र प्रदेशमा कुनै पनि राजनीति आग्रह वा पूर्वाग्रह नराखी जनताको हितमा काम गर्न निर्देशन दिनुभएको गृह मन्त्रीको सचिवालयले जनाएको छ ।

गृह मन्त्री लामिछानेले अब प्रहरी नेतृत्वका लागि पनि कुनै शक्ति केन्द्रमा व्यक्तिगत विवरण लिएर धाउनु नपर्ने र कार्यकुशलता, कार्यसम्पादन तथा तोकिएको जिम्मेवारीमा कस्तो भूमिका निर्वाह भएको छ यसैको आधारमा नेतृत्व चयन हुने भएकाले पनि जिम्मेवारी निर्वाहमा ध्यान दिन आग्रह गर्नुभएको छ ।

प्रदेश तथा अन्य निकायमा रहेका सबै उच्च प्रहरी अधिकारीहरूलाई गृह मन्त्री लामिछाने सधैँ पीडितको पक्षमा खम्बा भएर उभिन पनि आग्रह गर्नुभएको छ ।

सङ्गठनमा क्षमता भएकाहरूलाई उचित अवसर दिने र कुनै पनि राजनीतिक र शक्ति केन्द्रको दबाबमा प्रभावित हुन नदिने अडानमा आफू रहेको भन्दै उहाँले यति सुधार गर्न नसके आफू गृहमन्त्री भएको औचित्य नरहने समेत प्रस्ट पार्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button