तपाईँ सुन्दै हुनुहुन्छः

चालक दलका सदस्यसहित केहीको शव काठमाडौँ ल्याइने

काठमाडौँ । आइतबार पोखरामा यती एयरलाइन्स विमान दुर्घटनामा परी निधन भएका विमान चालक दलका सदस्य, विदेशी नागरिक र काठमाडौँ घर भएकाहरूको शव काठमाडौँ ल्याइने भएको छ । 

दुर्घटनामा निधन भएकामध्ये पोखराका नागरिकको हकमा पोखरामै पोस्टमार्टम गरी आफन्तको जिम्मा लगाइनेछ भने काठमाडौँ ल्याइने शवको हकमा काठमाडौँमै पोस्टमार्टम गरिनेछ । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरका अनुसार विमानका चालक दलका सदस्य तथा विदेशी नागरिक र काठमाडौँ घर भएकाहरूको शव काठमाडौँ ल्याइनेछ । उहाँका अनुसार शवको पोष्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगञ्जबाट तीन सदस्यीय विशेषज्ञ टोली पोखरा जादैछ । 

माघ १ गते आइतबार बिहान काठमाडौँबाट पोखराका लागि उडेको यती एयरलाइन्सको कल साइन ‘नाईन एन-एनएसी’ ६९१ उडानको एटीआर ७२ विमान अवतरण हुनुअघि पोखराको सेती खोँचमा दुर्घटनाग्रस्त भएको थियो । विमानमा चालक दलका चार सदस्य र ६८ यात्रु गरी ७२ जना सवार थिए । 

दुर्घटनापछि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा गोताखोरको टोलीसहित विमानस्थलको ‘रेस्क्यू एण्ड फायर फाइटिङ’ टोलीले उद्धार जारी राखेको छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button