बागमतीको उपसभामुख पदको निर्वाचन आज
मकवानपुर।बागमती प्रदेशको उपसभामुख पदका लागि आज सोमबार निर्वाचन हुँदैछ । उपसभामुख पदका लागि आज दिउँसो ३ बजे बस्ने प्रदेशसभामा निर्वाचन प्रक्रिया सुरु गरिने प्रदेशसभा सचिवालयले जनाएको छ ।
बागमती प्रदेशको उपसभामुख पदका लागि ३ जनाको उम्मेदवारी परेको छ । पुस २९ गते बसेको प्रदेशसभाको बैठकले उपसभामुख पदका लागि माघ २ गते सोमबारको मिति तय गरेको थियो । प्रदेशसभा बैठकले मिति तय गरे लगत्तै सोही दिन उपसभामुख पदका लागि मनोनयन दर्ता गरेको थियो । प्रदेशसभा सचिवालयले उपसभामुख पदका लागि शुक्रबार साँझ ५ बजेदेखि ६ः३० बजेसम्म मनोनयन दर्ताको कार्यक्रम तय गरेको थियो । उपसभामुख पदका लागि ३ वटा दलबाट ३ जनको उम्मेदवारी दर्ता भएको छ ।
प्रदेशसभाको उपसभामुख पदका लागि सत्ता गठबन्धन, नेपाली कांग्रेस र नेमकीपाका सांसदले उम्मेदवारी दिनु भएको छ । सत्तारुढ गठबन्धनको तर्फबाट नेकपा एमालेकी अप्सरा चापागाईँले उपसभामुख पदका लागी उम्मेदवारी दिनु भएको छ, भने नेपाली काङ्ग्रेसबाट सुना परियार तथा नेमकीपाबाट गीता काफ्लेले उम्मेदवारी दर्ता गराउनु भएको छ । उहाँहरूले नेपालको संविधानको धार १८२ एवम् प्रदेशसभा नियमावली (पहिलो संशोधन) २०७४ को नियम ९ को उपनियम (२) बमोजिम उम्मेदवारी दर्ता गराउनु भएको प्रदेश सभा सचिवालयका सचिव कृष्णहरि खड्काले बताउनुभयो ।
केन्द्रीय स्तरमा गत पुस २५ गते भएको सत्तारुढ गठबन्धनको भागबन्डाको क्रममा बागमती प्रदेशको उपसभामुख पद एमालेको भागमा परेको थियो । सोही अनुसार उपसभामुख पदका लागि सत्ता गठबन्धनका तर्फबाट एमालेकी चापागाईँले उम्मेदवारी दर्ता गराउनु भएको हो । पद तथा गोपनीयताको शपथ लिएसँगै नवनियुक्त प्रदेशसभाका सभामुख भुवन पाठकले उपसभामुखको निर्वाचनको प्रक्रिया अगाडि बढाउन प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्कालाई जिम्मेवारी दिनु भएको थियो ।
उपसभामुख पदमा उम्मेदवार बन्नु भएकी चापागाईँलाई माओवादी केन्द्रकी कुमारी मोक्तानको प्रस्तावमा राप्रपाकी आशा लामाले समर्थन गर्नु भएको छ । सत्ता गठबन्धनमा रहनु भएकी चापागाईँलाई माओवादी केन्द्र, राप्रपा र हाम्रो नेपाली पार्टीको समर्थन रहेको छ ।
त्यस्तै नेमकीपाकी काफलेको प्रस्तावकमा नेमकीपाका बागमती प्रदेश संसदीय दलका नेता सुरेन्द्रराज गोर्साई रहनु भएको छ, भने, समर्थकमा सांसद सुजना सायजु रहनु भएको छ । यसैगरी काङ्ग्रेसबाट प्रदेशसभाको उपसभामुख पदमा उम्मेदवारी दिनु भएकी परियारको प्रस्तावकमा सांसद उत्तम जोशी र समर्थकमा साङ्किला शेर्पा रहनु भएको छ ।
यस्तो छ समीकरण
बागमती प्रदेशसभाको सभामुखको लागि शुक्रबार भएको निर्वाचनमा सत्ता गठबन्धनबाट सरकारलाई समर्थन दिएको नेकपा एकीकृत समाजवादीले तटस्थ भूमिका निर्वाह गर्यो । सोही अनुसार एकीकृत समाजवादीले आज हुने उपसभामुख पदको निर्वाचनमा पनि तटस्थ रहने निश्चित छ ।
उपसभामुख पदमा सत्ता गठबन्धन र कांग्रेस र नेमकीपाका उम्मेदवार बीच प्रतिस्पर्धा हुने पक्कापक्की रहेको छ । उक्त निर्वाचनमा सत्ता गठबन्धनका ४ वटा दलहरूको समर्थन एमालेबाट उम्मेदवार बन्नु भएकी चापागाईँलाई छ । चापागाईँलाई राप्रपा, माओवादी केन्द्र, र हाम्रो नेपाली पार्टीको समर्थन रहेको छ । जस अनुसार चापागाईँलाई ६२ जना सांसदको समर्थन हुने देखिन्छ ।
यता कांग्रेसका ३७ जना सांसद रहेका छन् । काँग्रेसकी उम्मेदवार परियाको पक्षमा ३७ जना सांसद हुने देखिएको छ । यस्तै नेमकीपाकी सयजुको पक्षमा ३ जना सांसद रहेका छन् । ७ जना सांसद रहेको एकीकृत समाजवादी तटस्थ रहने देखिन्छ । ११० सदस्यीय बागमती प्रदेशसभामा राप्रपाका १३ जना सांसद रहेका छन् भने एमालेका २७, माओवादी केन्द्रका २१ र हाम्रो नेपाल पार्टीका २ जना सांसद रहेका छन् ।








प्रतिक्रिया राख्नुहोस्