मधेश प्रदेशको पहिलो जित, एपीएफ सेमिफाइनलमा
सुनसरी । नेपाल एपीएफ क्लबले प्रधानमन्त्री कप महिला टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित निकाल्दा मधेश प्रदेशले पहिलो जित हात पारेको छ ।
इटहरीमा जारी प्रतियोगितामा लगातार दोस्रो जित निकाल्ने क्रममा एपीएफले आज बागमती प्रदेशमाथि ५३ रनको जित निकालेको हो । एपीएफले दिएको १ सय ३७ रनको लक्ष्य पछ्याएको बागमती २० ओभरमा ९ विकेट गुमाएर ८३ रनमा समेटियो । यो जितसँगै एपीएफ एक खेल अगावै सेमिफाइनल प्रवेश गरेको छ ।

दोस्रो खेलमा दोस्रो जित हात पारेको एपीएफ ४ अङ्कका साथ समूह ‘ए’ को शीर्ष स्थानमा उक्लिएको छ । यसअघि एपीएफले आफ्नो पहिलो खेलमा हिजो गण्डकी प्रदेशलाई पराजित गरेको थियो । दुई खेलमा लगातार हार बेहोरेको बागमती प्रदेश अङ्कविहीन रहँदै समूह ‘ए’ को पुछारमा रहेको छ । सुदूरपश्चिम दोस्रो स्थानमा रहँदा गण्डकी तेस्रो स्थानमा छ ।
आजै सम्पन्न दोस्रो खेलमा मधेश प्रदेशले पहिलो जित निकालेको छ । मधेशले कर्णाली प्रदेशमाथि ८ विकेटको जित निकालेको हो । प्रतियोगितामा कर्णालीको यो लगातार दोस्रो हार हो । यसअघि पहिलो खेलमा हिजो शनिबार लुम्बिनी प्रदेशसँग कर्णालीले ९८ रनको हार बेहोरेको थियो ।

आज भएको दोस्रो खेलमा कर्णालीले दिएको ८० रनको लक्ष्य मधेशले १०.२ बलमा २ विकेट गुमाएर पूरा गर्यो । सुखद सुरुवात गरेको कर्णालीले २३ रनमा पहिलो विकेट गुमाएको थियो । त्यसपछि बाँकी ५ विकेट गुमाएर कर्णालीले ५६ रन मात्र जोड्न सक्दा लगातार दोस्रो हार बेहोर्नुपर्यो । दोस्रो खेलमा पहिलो जित हात पारेको मधेश २ अङ्कका साथ समूह ‘बी’ को तेस्रो स्थानमा रहेको छ ।
उक्त समूहमा लुम्बिनी शीर्ष स्थानमा रहँदा प्रदेश एक दोस्रो स्थानमा छ । कर्णाली प्रदेश दुई खेलमा अङ्कविहीन रहँदै पुछारमा रहेको छ ।
प्रतियोगिता अन्तर्गत सोमबार हुने पहिलो खेलमा प्रदेश नम्बर एक र लुम्बिनीबिच तथा दोस्रो खेल गण्डकी र सुदूरपश्चिम प्रदेशबिच हुनेछ ।








प्रतिक्रिया राख्नुहोस्