लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा एमालेका गिरीको दाबी पेस

रुपन्देही । लुम्बिनीको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता लीला गिरीले दाबी पेस गर्नुभएको छ ।
लुम्बिनी प्रदेशमा सरकारको नेतृत्वका लागि सत्तारुढ गठबन्धन दलको समर्थनमा नेता गिरीले दाबी पेस गर्नुभएको हो ।
प्रदेश प्रमुख अमिक शेरचनको कार्यालय पुगेर बहुमत प्रदेशसभा सदस्यको हस्ताक्षरसहित सरकारमा दाबी प्रस्तुत गरिएको एमाले प्रदेशसभा सदस्य भूमिश्वर ढकालले जानकारी दिनुभयो ।
गिरीलाई एमालेका २९, नेकपा (माओवादी केन्द्र) का १०, राप्रपाका चार, नागरिक उन्मुक्ति पार्टीका चार, जनता समाजवादी पार्टीका तीन, स्वतन्त्र दुई, जनमत पार्टीका तीन र लोकतान्त्रिक समाजवादी पार्टीका तीन गरी ५८ प्रदेशसभा सदस्यको समर्थन रहेको उहाँले बताउनुभयो ।
प्रदेश प्रमुख अमिक शेरचनले आज अपराह्न ४ः०० बजेभित्र सरकारको नेतृत्वमा दाबी पेस गर्न आह्वान गरेपछि एमालेले सत्तारुढ दलहरूको समर्थनमा सरकारको नेतृत्वमा दाबी प्रस्तुत गरेको हो । दाबी पेस भएपछि प्रदेश प्रमुख शेरचनले आजै गिरीलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुहुने छ ।
यसअघि मङ्गलबार अपराह्न ४ः०० बजे प्रदेश प्रमुख कार्यालय बुटवलमा सत्तागठबन्धन दलले दाबी पेस गर्ने तयारी गरे पनि माओवादी केन्द्रले आलोपालो नेतृत्व गर्नुपर्ने अडान राखेपछि अन्तिम समयमा दाबी प्रक्रिया स्थगित गरिएको थियो ।







प्रतिक्रिया राख्नुहोस्