तपाईँ सुन्दै हुनुहुन्छः

नवलपुरका ९८० विपन्न र गरिब परिवारलाई न्यानो कपडा 

नवलपुर । जिल्ला विपद् व्यवस्थापन समिति (नवलपरासी बर्दघाट सुस्ता पूर्व ) नवलपुरले विपन्न र गरिब परिवारलाई  न्यानो कपडा वितरण  सुरु गरेको छ ।

आज कावासोती वडा नं. तीनका विपन्न परिवारलाई न्यानो कपडा  (ब्लाङकेट)  वितरण गरिएको छ । हिजो र आज गरी वडामा रहेका ३० परिवारलाई ब्लाङकेट  वितरण गरिएको वडा अध्यक्ष डोरमान गिरीले बताउनुभयो । 

कावासोती तीनबाट प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले ब्लाङकेट  वितरण गरी न्यानो कपडा वितरण  सुरुआत  गर्नुभएको हो ।

जिल्लाका विपन्न र गरिब ९८० परिवारलाई न्यानो कपडा वितरण गर्ने प्रजिअ घिमिरेले जानकारी दिनुभयो । कावासोती नगरपालिकाका २२०, देवचुली नगरपालिकाका १५०, गैँडाकोट नगरपालिकाका २१०, मध्यविन्दु नगरपालिकाका १६०, हुप्सेकोट गाउँपालिकाका ७०, विनयी त्रिवेणी गाउँपालिकाका एक सय, बुलिङटार गाउँपालिकाका ४० र बौदीकाली गाउँपालिकाका ३० जना गरी ९८० परिवारलाई वितरण गरिने घिमिरेले बताउनुभयो । 

केही दिन यता लगातार चिसो बढिरहेको हुँदा विपन्न तथा गरिब  परिवारलाई असहज भइरहेकोले समितिले ब्लाङकेट  वितरण सुरु गरेको उहाँले बताउनुभयो । चिसोका कारण कसैले पनि अकालमै ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यका साथ यो कार्य थालिएको उहाँले बताउनुभयो । 

सबै आठ वटै पालिकाका प्रतिनिधि सहित जिल्ला विपद् व्यवस्थापन समितिको बैठक बसेर विपन्न र गरिब घर पहिचान गरी ब्लाङकेट वितरण गर्ने निर्णय भएको प्रजिअ घिमिरेले बताउनुभयो । विपद् व्यवस्थापन समितिले पालिकालाई ब्लाङकेट उपलब्ध गराएको र पालिकाले आफै वितरण गर्ने कार्य सुरु गरेको उहाँले बताउनुभयो । 

यस्तै रेडक्रसले उपशाखा कावासोतीले पनि कावासोती तीनका १० परिवारलाई  ब्लाङकेट  भाँडाकुँडा र लगाउने  न्यानो कपडा वितरण गरेको छ । रेडक्रसले आवश्यकता हेरेर जिल्लाका अन्य पालिकामा रहेको  विपन्न तथा गरिब परिवारलाई सामाग्री प्रदान गर्ने सभापति बाबुराम कँडेलले बताउनुभएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button