‘महाभारा’ मञ्चनसँगै इलाममा व्यावसायिक बन्दै रङ्गमञ्च
इलाम । कला साहित्य, गीत सङ्गीतको लागि उर्वर मानिने इलाममा यही पुस २० गतेदेखि व्यावसायिक रुपमा नाटक मञ्चन भइरहेको छ । चेतना नाट्य समूहको आयोजनामा नाटक महाभारा मञ्चन भइरहेको छ ।

इलामस्थित नारी विकास सङ्घको सभा हललाई आयोजकले थिएटरको रुपमा व्यवस्थापन गरी थालिएको नाटक मञ्चनमा दर्शकको आर्कषण बढिरहेको छ । सबै उमेर समूह दर्शक नाटक हेर्न आउने गर्दछन् छिमेकी जिल्लाहरूबाट समेत । इलामको नाटकको इतिहासलाई कायम राख्दै नाटक घर निमार्ण गर्ने उद्देश्यसहित नाटक मञ्चन गरिरहेको चेतना नाट्य समूह अध्यक्ष सुरेश पोर्तेलले बताउनुभयो ।

लेखक तथा पत्रकार वसन्त बस्नेतले लेख्नु भएको चर्चित उपन्यास महाभाराको कथा वस्तुलाई इलामे कलाकारले जीवन्त अभिनय गरिरहेका छन् । आफ्नो उपन्यासमा आधारित नाटक हेर्न गृह जिल्ला आइपुग्नुभएका बस्नेतले इलाममा नाटकको सम्भावना बढेर गएको बताउनुभयो । आफूले लेखेको उपन्यासलाई नाटकको रुपमा हेर्न पाउँदा खुशी व्यक्त गर्दै बस्नेतले नाटकमा धेरै कुरा नयाँ गरिएको महाभारा आफूले सोचेभन्दा राम्रो नाटक बनेको बताउनुभयो ।

पौष ३० गतेसम्म नाटक मञ्चन हुने नाटक प्रत्येक दिन एक पटक र बिदाको दिन २ पटक मञ्चन हुँदै आएको छ । दर्शकले ३ सय रुपैयाँ शुल्क तिरेर नाटक हेर्न सक्नेछन्, विद्यार्थीलाई आधा छुट दिइएको छ । नाटक व्यावसायिक बनाउन निकै चुनौतीपूर्ण रहे पनि शुल्क तिरेर नाटक हेर्ने बानी विकास गर्नुपर्ने निर्देशक अन्वेश थुलुङ बताउनुहुन्छ ।
पूर्वी पहाडको ग्रामीण जनजीवन, सांस्कृतिक, धार्मिक, राजनीतिक र प्रेम सम्बन्ध जस्ता विषयले प्राथमिकता पाएको नाटकमा इलामका १५ कलाकारले अभिनय गरेका छन् ।








प्रतिक्रिया राख्नुहोस्