तपाईँ सुन्दै हुनुहुन्छः

सवारी दुर्घटना हुँदा ११ जना घाइते

File Photo

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका–४ बेलटारमा सवारी दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । 

सङ्खुवासभाको चैनपुरबाट सुनसरीको इटहरी जाँदै गरेको को १ ज २२७५ नम्बरको बोलेरो गाडी अनियन्त्रित भई दुर्घटना हुँदा  ११ जना घाइते भएका हुन् । बोलेरो सडकबाट करिब ५० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ । 

दुर्घटनामा घाइते भएका ७ जनाको सुनसरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा र ४ जनाको जिल्ला अस्पताल धनकुटामा उपचार भइरहेको धनकुटा प्रहरी प्रमुख एसपी लक्ष्मीराज अधिकारीले जानकारी दिनुभयो । 

घटना भएको खबर पाउने बित्तिकै प्रहरी चौकी चानुवा र प्रहरी चौकी लेगुवाबाट खटिएको प्रहरीले तत्काल उद्धार गरी उपचारका लागि पठाएको उहाँले बताउनुभयो ।

बोलेरो चालक मोरङको बेलबारी नगरपालिका–२ का प्रवीण कोइराला प्रहरी चौकी लेगुवाको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button