तपाईँ सुन्दै हुनुहुन्छः

अत्यधिक मदिरा सेवनले राउटेको अस्तित्व मेटिने खतरा

दैलेख ।कर्णाली प्रदेशका विभिन्न जिल्लामा फिरन्ते जीवन बिताउँदै आएका राउटे समुदायको अस्तित्व मेटिने खतरा बढ्दै गएको छ ।

आफूलाई ‘वनको राजा’ भन्न रुचाउने राउटे समुदाय अत्यधिक मदिरा सेवन, पोषणयुक्त खानाको कमी तथा नवजात शिशुको हेरचाहमा कमीजस्ता कारणले उनीहरूको अस्तित्व मेटिने खतरा बढेको हो । राउटेको जनसङ्ख्या बर्सेनि घट्दो क्रममा छ । अत्यधिक मदिरा सेवनले युवायुवती र वृद्ध वृद्धासम्मले अकालमा ज्यान गुमाइरहेका छन् ।

पछिल्लो पाँच वर्षमा राउटे समुदायका २९ जनाले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमा १९ जना बालबालिका र १० जना वयस्क उमेरका छन् । धेरैजसो वयस्क उमेरका राउटे नागरिक अत्यधिक मदिरा सेवनले मृत्युवरण गरिरहेका छन् । मदिरा सेवनका कारण अधिकांश राउटेको स्वास्थ्य अवस्था कमजोर हुन थालेको स्वास्थ्यकर्मी बताउँछन् ।

२०७२ सालमा राउटे युवा कपिल शाही जलेर सख्त घाइते भए । उनको काठमाडौँसम्म पु¥याएर उपचार गरियो । आगोले पोलिएको घाउ निको भएन । घाउको दुखाई कम गर्न उनले मदिराको सहारा लिए । नियमित अत्यधिक मदिरा सेवनले कपिलको २०७७ असार ३१ गते मृत्यु भयो । गत मङ्गलवार मात्र अत्यधिक मदिरा सेवन गरेर आगो नजिकै सुतेका राउटे युवा नारायण शाही गम्भीर घाइते छन् । कर्णाली प्रदेश अस्पतालमा उपचार गराइरहेका उनको शरीरको ३० प्रतिशत भाग जलेको छ ।

अत्यधिक मदिरा सेवनका कारण भीरबाट लडेर मृत्यु हुने क्रम पनि बढेको छ । अत्यधिक मदिरा सेवनका कारण शिवराज शाहीको मृत्यु भयो । बजारमा पाइने लिचीजस्ता कमसल मदिराको लतमा फसेका शिवराजको २०७८ वैशाखमा मृत्यु भयो । जाँड खानु राउटे समुदायको मौलिक विशेषता बनेको छ । उनीहरू परापूर्वकालदेखि छाप्रोमा बचेको खानाबाट जाँड बनाउने र सेवन गर्ने गर्थे । तर पछिल्लो समय आफूले बनाएको नभई बजारमा पाइने कमसल मदिराका पारखी बनेका छन् । बालबालिकादेखि बुढापाकामा मदिराको लत बढ्दै गएको छ ।

राउटेको अत्यधिक मदिरा सेवनको लत बन्द गर्नुपर्ने राउटे जानकार डा. लालबहादुर पुनको भनाई छ । बजारमा पाईने कमसल मदिराको प्रयोग पूर्ण रूपमा रोक्न नसके राउटेको अस्तित्व नामेट हुने डा. पुनले बत्ताउनुभयो ।

राउटे समुदायले सरकारले उपलब्ध गराउँदै आएको सामाजिक सुरक्षा भत्ता मदिरामै सक्ने गरेका छन् । सामाजिक सुरक्षा भत्ता नगद दिन बन्द गर्नुपर्ने अर्का राउटे जानकार हिरासिं थापाले बत्ताउनुभयो । सरकारले उपलब्ध गराएको सामाजिक सुरक्षा भत्ता राउटे समुदायका नागरिकहरूले रक्सी, चुरोट र सुर्तीमा खर्चिने गरेका छन् । राउटे महामुखिया महिनबहादुर शाहीले आफ्नो समुदाय रक्सीको कुलतमा फसेको बताउनुभयो ।

पहिले आफैँले बनाएको जाँड खाने गरेको र अहिले समुदायका सबै नागरिकले बजारमा पाईने रक्सी खाने गरेको महामुखिया शाहीले बत्ताउनुभयो । महिला र पुरुष दुवैले अत्यधिक रक्सी सेवन गर्ने गरेको बत्ताउँदै बालबालिका पनि अभिभावकसँगै रक्सी खान थालिसकेको महामुखिया शाहीको भनाई छ ।

बुवा आमा मदिराको लतमा फसेर भर्खर जन्मिएका बालबच्चाको हेरचाह नगर्दा सबै सन्तान जन्मिने बित्तिकै मर्न थालेको महामुखिया शाहीले बत्ताउनुभयो । राउटे समुदाय दैलेखको नारायण नगरपालिका ८ सालखर्कमा बसोबास गर्दै आइरहेका छन् । हाल उनीहरूको जनसङ्ख्या हाल १ सय ४३ रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button