पर्सामा कानुन विपरीत सञ्चालित क्रसर उद्योग पूर्ण रुपमा बन्द
वीरगञ्ज । पर्सामा कानुन विपरीत सञ्चालनमा रहेका सम्पूर्ण क्रसर उद्योगहरू आजबाट पूर्ण रुपमा बन्द भएका छन् ।
जिल्ला प्रशासन कार्यालय पर्साले आज एक सूचना जारी गर्दै कानुन विपरीत, दर्ता नगरी, नवीकरण तथा सञ्चालन अनुमति नलिई पर्सामा सञ्चालनमा रहेका ढुङ्गा, गिटी, रोडा तथा बालुवा उत्खनन, प्रशोधन कार्यमा संलग्न क्रसर उद्योग एवं विभिन्न आयोजना विकास तथा निर्माणको क्रममा सोही आयोजनाको लागि आवश्यक परिमाणमा ढुङ्गा, गिटी, रोडा तथा बालुवा उत्खननको अनुमति प्राप्त उद्योग, निर्माण व्यवसायीले आयोजना सम्पन्न भए पश्चात् पनि त्यस्तो उत्खनन कार्य गरिरहेको हुँदा यस्तो कार्य आजको मितिबाट बन्द गर्न चेतावनी दिइएको छ ।

पर्साका सहायक प्रमुख जिल्ला अधिकारी महेश राज तिम्सिनाद्वारा जारी सूचनामा कोही कसैबाट रोडा, ढुङ्गा, गिट्टी तथा बालुवा उत्खनन तथा दोहन गरेको भेटिएमा कडा कारबाही गरिने जनाइएको छ ।
गृह मन्त्रालयले गत पुस २० गते देशका ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई मापदण्ड विपरीतका क्रसर उद्योग बन्द गर्न परिपत्र गरेको थियो ।







प्रतिक्रिया राख्नुहोस्