तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रपति भण्डारीद्वारा मदन पुरस्कार पुस्तकालयको अवलोकन

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले मदन पुरस्कार पुस्तकालयको अवलोकन गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले साझा यातायातको विद्युतीय साझा बसमा सवार भएर आज ललितपुरको पाटनढोका पुगी सो पुस्तकालय र ललितपुरमा नै रहेको पुरातात्त्विक तथा ऐतिहासिक महत्त्वको पिम्बहाल पोखरीको अवलोकन गर्नुभएको हो ।

त्यस अवसरमा राष्ट्रपति भण्डारीलाई ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन र पुस्तकालयका अध्यक्ष कनकमणि दीक्षितले स्वागत गर्नुभएको थियो ।

पुस्तकालयको अवलोकन गर्ने क्रममा राष्ट्रपति भण्डारीले २०१५ सालको निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टीको चुनावी घोषणा पत्रको एक थान लिनुभएको थियो भने स्वस्थानी व्रत कथा, गरुड पुराण लगायतका पुस्तकहरूको ब्रिफिङ रुचिपूर्वक सुन्नु भएको ललितपुर महानगरपालिकाका प्रमुख महर्जनले जानकारी दिनुभयो ।

राष्ट्रपति भण्डारीले ट्राफिक जामका कारण सर्वसाधारणले सास्ती पाउने अवस्था नआओस् भनेर शनिबार बिदाको दिन पारेर सो पुस्तकालय र पोखरीको अवलोकन गर्नु भएको मदन पुरस्कार पुस्तकालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button