भ्रष्टाचार नियन्त्रण र सुशासन सम्बन्धी राष्ट्रव्यापी लोकगीत गायन प्रतियोगिता हुँदै
पुस २२ गतेदेखि माघ १० गतेसम्म रेडियो नेपाल सिंहदरबारमा आवेदन दिन सकिने

काठमाडौँ । रेडिया नेपालमा माघ २० गते राष्ट्रव्यापी लोकगीत गायन प्रतियोगिता हुने भएको छ ।
रेडियो नेपाल र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको संयुक्त आयोजनामा रेडियो नेपालको प्राङ्गणमा यही माघ २० गते राष्ट्रव्यापी लोकगीत गायन प्रतियोगिता हुने भएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३२ औँ स्थापना दिवसको उपलक्ष्यमा “सदाचार, भ्रष्टाचार नियन्त्रण र सुशासन” सम्बन्धी विषयमा सचेतना अभिवृद्धि गर्ने उद्देश्यले सो गायन प्रतियोगिताको आयोजना गरिएकाे रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धि बहादुर केसीले जानकारी दिनुभयो ।
रेडियो नेपालले मुलुकको आर्थिक, सामाजिक, सांस्कृतिक, साहित्यिक, धार्मिक एवम् कलात्मक पक्षहरूको जगेर्ना तथा सम्बद्र्धन गर्न सघाउ पुर्याउने र मुलुकमा भएका नयाँनयाँ प्रतिभाहरूको खोजी गर्ने उद्देश्यका साथ गायन प्रतियोगिताको आयोजना गरिएको कार्यकारी निर्देशक केसीले बताउनुभयो ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको पहलमा सञ्चालन गर्न लागिएको राष्ट्रव्यापी लोकगीत गायन प्रतियोगितामा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगकाे पूर्ण सहयोग र समन्वय रहने सहसचिव द्वय उत्तरकुमार खत्री र श्रवण कुमार तिमिल्सेनाले बताउनुभयो ।
सो गायन प्रतियोगितामा भाग लिन इच्छुक कलाकारहरूले आफूले गाउने गीतसहित यही पुस २२ गतेदेखि माघ १० गतेसम्म रेडियो नेपाल सिंहदरबारमा आवेदन दिन सक्नेछन् । प्रतियोगितामा गाइने गीतका शब्दहरू “सदाचार, भ्रष्टाचार नियन्त्रण र सुशासन” का विषयमा केन्द्रित रहेको हुनुपर्नेछ ।
प्रतियोगितामा प्रथम हुने कलाकारलाई रु एक लाख, द्वितीय हुनेलाई रु ५० हजार, तृतीय हुनेलाई रु २५ हजार र सान्त्वना पुरस्कार १० हजार प्रदान गरिने छ भने प्रतियोगितामा सहभागी सबै कलाकारहरुलाई प्रशंसा-पत्र प्रदान गरिने रेडियो नेपालले जनाएको छ ।
साथै यस सम्बन्धी थप जानकारी लिनका लागि रेडियो नेपाल, सङ्गीत शाखाको फोन नं. ०१–४२११८५० मा सम्पर्क राख्न सकिने छ ।
रेडियो नेपालले मनाउने वार्षिकोत्सव कार्यक्रममा पनि प्रत्येक वर्ष गायन प्रतियोगिताको आयोजना हुँदै आइरहेको छ ।








प्रतिक्रिया राख्नुहोस्