तपाईँ सुन्दै हुनुहुन्छः

लुम्बिनीमा नयाँ सरकार गठनका लागि आह्वान

file photo

दाङ । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आज दलहरूलाई आह्वान गर्नुभएको छ ।

उहाँले संविधानको धारा १६८ को उपधारा २ अनुसार नयाँ मुख्यमन्त्री नियुक्तिका लागि प्रदेशसभाका बहुमत सदस्यको दाबी पेश गर्न सात दिनको समय दिएर दलहरूलाई आह्वान गर्नुभएको लुम्बिनी प्रदेश प्रमुखको कार्यालयले जारी गरेको सूचनामा जनाइएको छ ।

लुम्बिनी प्रदेश प्रमुख कार्यालयका प्रवक्ता चिरञ्जीवी पौडेलद्वारा जारी विज्ञप्तिमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई लुम्बिनी प्रदेशको मुख्यमन्त्री नियुक्तिका लागि यही पुस २७ गते बुधबार दिउँसो ४ बजेभित्र दाबी पेस गर्न आह्वान गरिएको जनाइएको छ ।

लुम्बिनीमा ८७ जना प्रदेशसभा सदस्य छन् । सरकार गठनका लागि ४४ जना सदस्य आवश्यक हुन्छ । लुम्बिनी प्रदेशको पहिलो पार्टी नेकपा एमालेका २९ जना सदस्य छन् ।

त्यस्तै नेपाली कांग्रेसका २७, नेकपा माओवादी केन्द्रका नौ, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका चार/चार, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र जनता समाजवादी पार्टीका तीन/तीन, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चाका एक/एक जना र तीन जना स्वतन्त्र रहेका छन् । स्वतन्त्र एक सदस्य भने माओवादीमा फर्केको बताइएको छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button