तपाईँ सुन्दै हुनुहुन्छः

आर्थिक विकासका लागि किसान र उद्योग व्यवसायीको मनोबल बढाउन जरुरी : राष्ट्रपति भण्डारी

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले देशको आर्थिक विकासका लागि किसान र उद्योग व्यवसायीको मनोबल बढाउन ध्यान दिनुपर्ने बताउनुभएको छ । 

नेपाल जुत्ता–चप्पल उत्पादक सङ्घले काठमाडौँमा आयोजना गरेको अन्तर्राष्ट्रिय जुत्ता–चप्पल औद्योगिक प्रदर्शनीको आज उद्घाटन गर्नुहुँदै राष्ट्रपति भण्डारीले किसान र उद्योग व्यवसायीको मनोबल बढाउन सके मात्रै देशले आर्थिक विकास गर्न सक्ने बताउनुभयो । 

राष्ट्रपति भण्डारीले देशमा उपलब्ध साधन–श्रोतको दिगो उपयोग गरी स्वदेशी उत्पादनमा जोड दिन सके चुलिँदो व्यापार घाटा कम गर्न सहयोग पुग्ने पनि बताउनुभयो । 

राष्ट्रपति भण्डारीले  आर्थिक विकासका लागि पहिचान गरिएका तुलनात्मक लाभका क्षेत्रहरूमा लगानी बढाउन र स्वदेशी उद्योगहरूलाई प्रतिस्पर्धी बनाउन सरकार र निजी क्षेत्रले सहकार्य गर्नुपर्ने बताउनुभयो । 

कार्यक्रममा विना विभागीय मन्त्री दामोदर भण्डारीले निजी क्षेत्र सँगको सहकार्यबिना सरकारले लिएको आर्थिक विकासको लक्ष्य हासिल हुन नसक्ने बताउनुभयो । 

मन्त्री भण्डारीले कोरोनाका कारण शिथिल बन्दै गएको अर्थतन्त्रलाई सुधार गर्न नवगठित सरकारको न्यूनतम साझा कार्यक्रममा मार्फत् निजी क्षेत्रका मागहरू सम्बोधन हुनेगरी कार्यक्रमहरू ल्याउने प्रयास भइरहेको पनि बताउनुभयो ।

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाले बैङ्कहरूमा देखिएको तरलताको समस्या र निरन्तर बढ्दै गएको ब्याजदरका कारण साना लगानीका उद्योगहरू बन्द हुने अवस्थामा पुगेको हुनाले त्यस तर्फ सरकारको ध्यान जानुपर्ने बताउनुभयो ।

फोटो : मिलन ढुङ्गाना

प्रतिक्रिया राख्नुहोस्

Back to top button