तपाईँ सुन्दै हुनुहुन्छः

कृषियोग्य जमिनको संरक्षण आवश्यक  : अध्यक्ष तिमिल्सिना

काठमाडौँ । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले स्थानीय तहले कृषि उत्पादनयोग्य जमिनको संरक्षण गर्न नसकेको बताउनुभएको छ । 

आज यहाँ आयोजित नेपाल कृषि सहकारी केन्द्रीय सङ्घ लिमिटेडको १५औँ वार्षिक साधारण सभामा उहाँले जग्गाको खण्डीकरण र बस्ती विस्तार रोकिनुपर्ने बताउनुभयो । 

उहाँले भन्नुभयो, “कृषियोग्य जमिन खुम्चिँदै छ, जग्गा खण्डीकरण गरी प्लटिङ बढ्दो छ ।” उहाँले कृषियोग्य जमिन अभाव भइरहेको भन्दै सहकारी संस्थाले सामूहिक कृषि खेतीमा जोड दिनुपर्ने बताउनुभयो । सहकारीमार्फत प्रत्येक जिल्लामा एउटा सामूहिक कृषिजन्य सामग्री उत्पादन कार्यक्रम सुरु गर्न उहाँले आग्रह गर्नुभयो । सामूहिक खेतीमार्फत कृषि उद्यमशीलता बढाउन सके व्यापार घाटा कम गराउन सकिने उहाँको भनाइ छ ।  

नेपालमा मात्रै उत्पादन हुने उपज र वस्तुको पेटेन्ट दर्ता हुनुपर्ने उहाँले बताउनुभयो । कृषि उत्पादनलाई निर्यातमुखी बनाउन अर्ग्यानिक उत्पादन, विज्ञ जनशक्तिको सहभागिता र प्रविधिको प्रयोग बढाउनुपर्ने उहाँको भनाइ छ ।  उहाँले किसानमुखी कानून निर्माण हुनुपर्नेमा जोड दिनुभयो । 

नेपाल कृषि सहकारी केन्द्रीय सङ्घ लिमिटेडका अध्यक्ष खेमबहादुर पाठकले किसानले मल र बिउ समयमा नपाउने, सिँचाइको अभाव र कृषि प्राविधिक जस्ता समस्या किसानले भोगिरहेको गुनासो गर्नुभयो । 

उहाँले कृषि तालिम तथा अनुसन्धान केन्द्रको निर्माण गर्न सरकारले सहयोग गर्नुपर्ने बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button