तराईका जिल्लामा आज यस वर्षकै सबैभन्दा बढी चिसो

जनकपुरधाम । विगत केही दिनदेखि तराई मधेसका जिल्लाहरूमा बाक्लो कुहिरो लाग्नुका साथै अत्यधिक चिसो बढेको छ ।
तराईका जिल्लाहरूमा आज यस वर्षकै सबैभन्दा बढी चिसो अनुभव गरिएको छ । मधेश प्रदेशको धनुषा, महोत्तरी, सर्लाही, सिरहा जिल्लामा अत्यधिक मात्रा बाक्लो कुहिरोसँगै चिसो बढेको छ ।
आज बिहानदेखि पश्चिम भागबाट चलेको हावा र शितलहरका कारणले यहाँका बृद्धबृद्धा, बालबालिका तथा असक्त व्यक्तिहरू बढी समस्यामा परेका छन् ।
यहाँका धेरैजसो व्यक्तिहरूमा चिसोका कारण स्वास्थ्य समस्या बढ्न थालेपछि उपचारका लागि स्वास्थ्य संस्था आउनेका सङ्ख्यामा समेत वृद्धि भएको प्रादेशिक अस्पताल जनकपुरधामले जनाएको छ ।
सर्वसाधारणले चिसोबाट जोगिनका लागि ठाउँ ठाउँमा आगो बालेर बसिरहेका छन् । अत्यधिक चिसो बढेसँगै बालबालिकाहरूमा रुघा खोकी, निमोनिया जस्ता स्वास्थ्य समस्याहरू अत्यधिक मात्रामा देखिन थालेको प्रादेशिक अस्पताल जनकपुरधामका वरिष्ठ बालरोग विशेषज्ञ डा. जामुनप्रसाद सिंहले जानकारी दिनुभयो ।
मधेश प्रदेशको राजधानी जनकपुरधाममा आज बिहानको तापक्रम ८.५ डिग्रीमा रहेको थियो भने मध्यान्ह १२ः०० बजेको अधिकतम तापक्रम १७ डिग्री सेल्सियस मापन भएको भएको छ ।
यसैगरि आज तराईका जिल्लाहरूमा पारदर्शीता ०.२ प्रतिशत रहेर कुहिरो लागेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
चिसो अत्यधिक मात्रामा बढेपछि विद्यालयहरूमा विद्यार्थीहरूको उपस्थिति घट्न थालेको धनुषाका विभिन्न विद्यालयका शिक्षकहरूले जानकारी दिनुभएको छ ।
अत्यधिक चिसो बढेसँगै विद्यालयहरूमा कक्षा ५ सम्मका बालबालिकाहरूलाई बिदा दिनु पर्ने अभिभावकहरूको भनाइ छ । कतिपय विद्यालयहरूमा अर्धवार्षिक परीक्षा सञ्चालन भइरहेकाले विद्यार्थीहरू परीक्षाका लागि भएपनि विद्यालय आउने गरेका छन् ।
मधेश प्रदेशमा रहेका अतिविपन्न वर्गमा पर्ने डोम, दुसाध, हलखोर, चमार, तत्मा तथा मुसहर समुदायका व्यक्तिहरूसँग पर्याप्त मात्रामा लुगा फाटा तथा ओढ्ने ओछ्याउने कपडा र बस्ने बासस्थानको राम्रो व्यवस्था नहुँदा थप समस्या भएको छ ।
यसैगरी, अत्यधिक मात्रामा कुहिरो लागेका कारण जनकपुरधाम–काठमाडौँ र काठमाडौँ– जनकपुरधामबाट आज कुनै पनि उडान हुन सकेको छैन ।
जनकपुरधाममा बुद्ध, श्रीएयर लायन्स लगायतका ६ देखि ८ वटा हवाई सेवा हुने गरेको छ ।








प्रतिक्रिया राख्नुहोस्