तपाईँ सुन्दै हुनुहुन्छः

‘हिमाल पारी अन्तरदेशीय रेलमार्ग निर्माण गर्न आतुर छौँ’

पोखरा । नेपालस्थित चिनियाँ कार्यवाहक राजदूत वाङ सिनले हिमाल पारी अन्तरदेशीय रेलमार्ग निर्माण गरी नेपालसँग काम गर्न चीन आतुर रहेको बताउनुभएको छ ।

आइतबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन समारोहलाई सम्बोधन गर्दै राजदूत वाङ सिनले चीन–नेपाल अन्तरदेशीय रेलमार्ग निर्माण नेपाल सरकार र नेपाली जनताको अपेक्षा भएकोले यसको काम सँगै गर्न आफूहरू तयार रहेको बताउनुभयो ।

अन्तरदेशीय रेलमार्गको महत्त्वपूर्ण चरणमा थप अध्ययनका लागि चिनियाँ प्राविधिक टोली भर्खरै नेपाल आएको जानकारी दिँदै भूपरिवेष्टित मुलुकबाट भू-जडित मुलुक बन्ने नेपालको सपना साकार हुने उहाँले बताउनुभयो ।

का.वा. राजदूत वाङ सिनले चीन–नेपाल आयात–निर्यात दिगो सम्बन्धको निर्माण गर्न चीनले सधैँ हातेमालो गर्ने बताउनुभयो । चिनियाँ पक्षले चिन–नेपाल बन्दरगाह आयात निर्यात कार्यलाई निर्बाध राख्न कडा मेहनत गरेको बताउँदै अरनिको राजमार्ग तेस्रो चरणको कार्य पनि सफलतापूर्वक सम्पन्न भएको बताउनुभयो ।

उहाँले केरुङ–बन्दरगाहले हालै दुईतर्फी ढुवानी कार्य सुचारु गरेसँगै नेपाली सामानले भरिएका सवारी साधन चीन प्रवेश गरेको र अब नेपाली उत्पादनहरू चीन निकासी हुने बताउनुभयो । सिनले यी कामहरूले चीन–नेपाल व्यापारमा नयाँ वसन्त शुरु हुने विश्वास समेत व्यक्त गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button