मोलुङ हाइड्रोले प्रभावित क्षेत्रका स्थानीयलाई १० प्रतिशत शेयर दिने

ओखलढुङ्गा । मोलुङ हाइड्रोपावर कम्पनीले स्थानीयका लागि साधारण शेयर निष्काशन गर्ने भएको छ ।
आयोजना प्रभावित क्षेत्रका नागरिकका लागि कम्पनीले साधारण शेयर निष्काशन गर्ने भएको हो ।
आगामी मंलबारदेखी प्रभावित क्षेत्रका स्थानीयले शेयर भर्न सक्ने गरी साधारण शेयर खुल्ला गरिने कम्पनी सञ्चालक समितिका अध्यक्ष श्रीराम महर्जनले बताउनुभयो ।
कम्पनीको १३ औँ साधारण सभाको अवसरमा अध्यक्ष महर्जनले प्रभावित क्षेत्रका नागरिकका लागि १० प्रतिशत शेयर निष्काशन गर्न लागिएको बताउनुभएको हो ।
कम्पनीको कुल जारी पुँजी ८० करोड २५ लाखको १० प्रतिशत अर्थात् आठ करोड दुई लाख ५० हजार बराबरको आठ लाख दुई हजार ५०० कित्ता साधारण शेयर प्रभावित क्षेत्रका लागि शेयर निष्काशन गरिने अध्यक्ष महर्जनले जानकारी दिनुभयो ।
त्यसपछि तत्काल आयोजनामा कार्यरत कर्मचारी, श्रम स्वीकृति पाएका विदेशमा रोजगार गरिरहेका नेपाली नागरिकहरू र सर्वसाधारणका लागि ३४ प्रतिशत अर्थात् २७ लाख २८ हजार ५०० कित्ता शेयर निष्काशन गर्ने तयारी भइरहेको छ ।
प्रभावित क्षेत्रका लागि खोल्न लागिएको १० प्रतिशत शेयर ओखलढुङ्गाका तीन वटा स्थानीय तहका नागरिकले आवेदन दिन पाउने कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेडका सीओओ विजेन्द्र प्रधानले बताउनुभयो ।
आयोजना सञ्चालन भएको पालिका मोलुङ गाउँपालिकाका बासिन्दाहरूले पाँच प्रतिशत, सुनकोशी गाउँपालिका र सिद्धिचरण नगरपालिकाका नागरिकले बाँकी पाँच प्रतिशत शेयर भर्न पाउने प्रधानको भनाई छ ।
यसअघि संस्थापक शेयर लिइसकेका मोलुङ गाउँपालिकाका स्थानीयले यो साधारण शेयर भर्न पाउने छैनन् ।
हाइड्रोले मोलुङ गाउँपालिकाका ८ वटै वडाका स्थानीयलाई संस्थापक शेयर यसअघि नै दिइसकेको छ । मोलुङका स्थानीयलाई प्रभावित क्षेत्र भनेर संस्थापक शेयर दिएपछि सिद्धिचरण र सुनकोसीका तत्कालीन जनप्रतिनिधिले करिब १ वर्षअघि आफ्नो क्षेत्रका नागरिकले पनि शेयर पाउनुपर्ने भन्दै लिखित रूपमै आयोजनाको ध्यानाकर्षण गराएका थिए ।
शेयर भर्नका लागि नाबालकको हकमा जन्मदर्ता साथै अन्यको हकमा नागरिकतासँगै बैङ्क खाता र डीम्याट खाता अनिवार्य आवश्यक पर्ने छ । आगामी माघ १८ गते सम्म साधारण शेयर भर्न सकिने छ ।
आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूले सनराइज बैङ्क, माछापुच्छ्रे« बैङ्क, मुक्तिनाथ विकास बैङ्क, कुमारी बैङ्क तथा लक्ष्मी बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।
मोलुङ गाउँपालिका ओखलढुङ्गामा सञ्चालित मोलुङ हाइड्रो पावरबाट हाल सात मेगावाट विद्युत् उत्पादन भइरहेको छ ।
वार्षिक १५ करोड आम्दानी
गत आर्थिक वर्षमा मोलुङ हाइड्रोले १५ करोड ६० लाख ९५ हजार सतसट्ठी रुपैंया आम्दानी गरेको छ ।
उत्पादन सुरु गरेको केही समय केन्द्रीय प्रशारणमा नजोडिँदा घाटा व्यहोरेको मोलुङ हाइड्रोले गत वर्षबाट केन्द्रीय प्रसारण लाइनमा जोडिएपछि आम्दानी गर्न थालेको हो ।
आयोजनाले आम्दानी दिन थालेको तर बैङ्कहरूले ब्याजदर बढाउँदा थप आर्थिक भार परेको कम्पनी सञ्चालक नवीन महर्जनले बताउनुभयो ।
“विगतमा समयमै खपत नहुँदा आम्दानी नभएर घाटामा थियो, १३२ केभिए प्रसारण लाइन बनेपछि अब नियमित आम्दानी हुनथालेको छ ।” उहाँले भन्नुभयो, “१९ करोडसम्म वार्षिक आम्दानी गर्ने लक्ष्य थियो । १९ सम्म नभएपनि १५ देखि १७ करोड आम्दानी हुनेछ । केही वर्षमा ऋण चुक्ता गरेपछि कम्पनी फाइदामा जान्छ ।”
मोलुङ हाइड्रो ओखलढुङ्गामा सञ्चालित विद्युत् आयोजना मध्ये सबैभन्दा पहिला उत्पादन सुरु भएको आयोजना हो ।








प्रतिक्रिया राख्नुहोस्