तपाईँ सुन्दै हुनुहुन्छः

पाँचौँ बागमती गोल्डकप पुस २४ गतेदेखि

मकवानपुर । पूर्वी मकवानपुरमा आगामी पुस २४ गतेबाट पाँचौँ संस्करणको ‘बागमती गोल्डकप फुटबल प्रतियोगिता’ सञ्चालन हुने भएको छ ।

बागमती गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा पुस २४ देखि माघ ३ गतेसम्म प्रतियोगिता हुने शनिबार हेटौँडामा पत्रकार सम्मेलन गरेर जानकारी दिइयो ।

बागमती–८ स्थित जनता माविको खेलमैदानमा हुने प्रतियोगितामा एक विदेशी टिमदेखि ७ “ए” डिभिजन क्लब र २ वटा मोफसलका क्लबहरूको सहभागिता रहने छ । प्रतियोगितामा आयोजक बागमती क्लब सहित त्रिभुवन आर्मी, नेपाल पुलिस क्लब, एपिएफ क्लब, मच्छिन्द्र युवा क्लब, हिमालय शेर्पा युवा क्लब, चर्च ब्याइज युनाईटेड, मकवानपुर ११, जाउलाखेल यूथ क्लब र भुटनको भुटानिज यूथ स्पोर्ट्स क्लब अमेरिकनको सहभागिता रहने बताइएको छ ।

प्रतियोगिताको विजेताले नगद ८ लाख र उपविजेताले ४ लाख रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने बताइएको छ । यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद ५१ हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र, विधागत उत्कृष्ट खेलाडी र प्रशिक्षकलाई जनही नगद १०÷१० हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र र हरेक खेलको म्यान अफ द म्याच खेलाडीले नगद ५ हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।

प्रतियोगितामा करिब ७१ लाख खर्च हुने अनुमान गरिएको छ । प्रतियोगितामा बागमती गाउँपालिकाबाट ३५ लाख र अन्य खर्च प्रदेश खेलकुद परिषद्, राष्ट्रिय खेलकुद परिषद्, प्रायोजक, विभिन्न व्यक्ति तथा संस्थाहरूबाट प्राप्त हुने आयोजकले जनाएको छ ।

बागमती गोल्ड कपको पहिलो उपाधि हरिहरपुरगढीले, दोस्रो गोल्डकपको उपाधि सरस्वती युवा क्लबले हात पारेको थियो भने तेस्रो गोल्डकपको उपाधि जावलाखेल युवा क्लबले हात पारेको थियो । प्रतियोगिताको चौथो संस्करण उपाधि थ्री स्टार क्लबले हात पारेको थियो । गत वर्षको विजेता टोली थ्री स्टार भने यसपटक सहभागी नहुने जानकारी आएको आयोजकले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button