अछामको बयालपाटा अस्पताललाई देशकै सर्वोत्कृष्ट अस्पतालको अवार्ड

अछाम । अछामको बयालपाटा अस्पतालले देशकै सर्वोत्कृष्ट अस्पतालको अवार्ड प्राप्त गरेको छ ।
सुदूरपश्चिम प्रदेशको अछाम जिल्लामा अवस्थित बयालपाटा अस्पतालले देशभरिबाट सर्वोत्कृष्ट अस्पतालको अवार्ड प्राप्त गरेको हो ।
काठमाडौँमा आयोजित एक कार्यक्रममा कर्पोरेट क्लब नेपालले अस्पताललाई देशकै सर्वोत्कृष्ट अस्पतालको अवार्ड प्रदान गरेको हो ।

द एचआरएम नेपाल अवार्ड फर कर्पोरेट एक्सिलेन्स (the HRM Nepal Award for Corporate Excellence – Health) नाम दिएको उक्त अवार्ड उपराष्ट्रपति नन्द बहादुर पुनले बयालपाटा अस्पताललाई प्रदान गर्नुभयो ।
अवार्ड प्राप्त गरेकोमा खुशी व्यक्त गर्दै न्याय हेल्थ नेपालका महासचिव एसपी कलौनीले नेपालमा निःशुल्क र गुणस्तरीय स्वास्थ्य सेवा दिने संस्थाको अभियानमा थप हौसला मिलेको बताउनुभयो ।
हरेक नेपाली नागरिकले गुणस्तरीय तथा निःशुल्क सेवा पाउनुपर्ने र त्यसका लागि आफ्नो अभियान जारी रहेको भन्दै महासचिव कलौनीले अवार्ड प्रदान गर्ने कर्पोरेट क्लब, नेपाल सरकार, सुदूरपश्चिम प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय, सबै साझेदार सङ्घसंस्था र सेवाग्राहीहरूलाई धन्यवाद समेत दिनुभयो ।
अवार्ड प्राप्त गरेकोमा खुशी व्यक्त गर्दै अस्पतालका मेडिकल निर्देशक डा. मन्दिप पाठकले यो उपलब्धि अस्पतालमा काम गर्ने सबै टिमको मेहनत र परिश्रमको उपलब्धि भएको बताउनुभयो ।
अवार्ड वितरण कार्यक्रममा न्याय हेल्थ नेपालका महासचिव कलौनी, कोषाध्यक्ष डा.भास्कर पन्त, बयालपाटा अस्पतालका मेडिकल निर्देशक डा.मन्दिप पाठक र बित्त विभाग प्रमुख रामराज खकुरेलको सहभागिता रहेको थियो ।
नेपाल सरकार र हाल सुदूरपश्चिम प्रदेश सरकार सामाजिक विकास मन्त्रालयसँगको सहकार्यमा न्याय हेल्थ नेपालको व्यवस्थापनमा बयालपाटा अस्पतालले बिगत १४ वर्षदेखि यस क्षेत्रका नागरिकलाई निःशुल्क एवं गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको छ ।

कर्पोरेट क्लब नेपालले गत वर्षदेखि देशभरमा विभिन्न सामाजिक विद्या तथा क्षेत्रमा उत्कृष्ट काम गर्ने संस्थाहरूलाई अवार्ड प्रदान गर्दै आइरहेको छ । स्वास्थ्य विधातर्फको अवार्ड छनोटका लागि सम्बन्धित क्षेत्रबाट विज्ञहरूको मूल्याङ्कन समिति गठन गरिएको थियो ।
स्वास्थ्य विधातर्फ बयालपाटा अस्पतालसँगै धुलिखेल अस्पताल र अन्नपूर्ण न्युरो एण्ड इलाइट अस्पताल मनोनयनमा परेका थिए । मनोनयनमा परेका अस्पतालको बारेमा थप जानकारी लिन र बुझ्न क्लबले एक छुट्टै विज्ञहरू सम्मिलित अनुसन्धान टिम समेत खटाएको थियो ।








प्रतिक्रिया राख्नुहोस्