सिञ्जाका दुर्गम गाउँमा‘फोरजी’ सेवा विस्तार, स्थानीय उत्साहित

जुम्ला । वर्षौँदेखि टेलिफोन तथा इन्टरनेटको समस्या झेलिरहेको सिञ्जाका दुर्गम गाउँमा फोरजी सेवा सञ्चालनमा आएको छ । बुधबारदेखि सिंजा गाउँपालिकाका सबै गाउँमा फोरजी सेवा सञ्चालन भएसँगै स्थानीय उत्साहित भएका छन् ।
गाउँमै फोरजी सेवासहितको इन्टरनेट र टेलिफोन सञ्चालनमा आएपछि स्थानीयले राहत महसुस गर्नुका साथै स्थानीय तहको दैनिक कार्यसम्पादनमा समेत सहज भएको सिंजा गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले बताउनुभयो ।
इन्टरनेट सेवा नहुँदा यहाँका नागरिकलाई निकै सकस भएको थियो । अध्यक्ष धितालले भन्नुभयो,“फोरजी सेवा विस्तारले गाउँमा विद्युतीय माध्यमबाट शिक्षा, स्वास्थ्य, सामाजिक सेवा र मनोरञ्जन, सूचना आदान प्रदानको काम समेत सहजै हुने अपेक्षा छ ।”

गाउँपालिकाभित्र रहेका नागरिकलाई सूचना थाहा पाउनका लागि मात्रै नभई देश तथा विदेशका समसामयिक घटनाबारे सिंजाबाली अब इन्टरनेटका माध्यमबाट घरमै बसेर थाहा पाउने छन् । सिञ्जाका ७ वटै वडा कार्यालय समेत फोरजी सहितको इन्टरनेट सेवा सञ्चालन भएको छ । जसले गर्दा सेवाग्राहीलाई छिटो छरितो सेवा प्रवाह गर्न सहज भएको सिंजा गाउँपालिका वडा नं. ६ का वडाध्यक्ष लाल बहादुर बुढाले बताउनुभयो ।
गाउँपालिका र वडा पालिकामा इन्टरनेट सेवा विस्तार भएपछि जुनसुकै तालिम, गोष्ठी, अनलाइन फर्म भर्न र अनलाइन बाट कक्षा लिन यहाँका विद्यार्थीलाई समेत सजिलो भएको उहाँको भनाई छ ।
यसअघि सिंजा क्षेत्रमा घाम लागेपछि मात्रै टेलिफोनले काम गर्ने र नाम मात्रको थ्रिजी आउँथ्यो । तर सिञ्जाको अध्यक्षमा पूर्ण प्रसाद धिताल निर्वाचित भएलगतै उहाँले थालेको पहलका कारण छोटो समयमा सिञ्जाका गाउँगाउँमा फोरजी सेवा विस्तार भएको सिंजा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मित्रलाल धितालले बताउनुभयो ।
टावरमा थप ठुलो क्षमताको सोलार पावर जडान गरेकोले विगतको जस्तो घाम नलागेसम्म टेलिफोन इन्टरनेट नआउने समस्याको समेत अन्त्य भएको छ ।
सिंजा गाउँपालिकाको साझेदारीमा नेपाल टेलिकमको लगानीमा फोरजी सेवा सञ्चालनमा ल्याइएको छ । वायु ऊर्जाको विद्युत् सिधै टावरमा जडान गरेपछि निरन्तर सञ्चार सेवा प्रवाह हुने भएको नेपाल टेलिकम कर्णाली प्रदेश कार्यालयका इञ्जिनियर चन्द्रभूषण शाहले जानकारी दिनुभयो ।
उहाँका अनुसार कर्णाली प्रदेशमा फाइबर सहितको इन्टरनेट विस्तारको काम थालिएपनि ठेकेदारका कारण ढिलाइ भएको छ । यद्यपि, सिंजा गाउँपालिको निरन्तर पहलमा सिञ्जामा फोरजी सेवा विस्तार भएको हो ।
इन्टरनेट सेवा सञ्चालनमा आएदेखि फोन गर्न र इन्टरनेट चलाउन पाउँदा सिञ्जावासीमा खुसी छन् । उक्त टावरले सिञ्जा क्षेत्रका कनकासुन्दरी र हिमा गाउँपालिकाका विभिन्न गाउँमा समेत काम गरेको पाइएको छ ।








प्रतिक्रिया राख्नुहोस्