पाल्पा नुवाकोटगढी, अङ्ग्रेज हराउने मुख्य कडी
पर्यटकीय गन्तव्य बन्दै ऐतिहासिक नुवाकोटगढी

रुपन्देही । बुटवलको व्यस्त बजारबाट नजिकमा सजिलै पुग्न सकिने इतिहास बोकेको डाँडाको नाम हो नुवाकोट ।
अङ्ग्रेजलाई हराएका नेपाली सेनाको आश्रय स्थलदेखि प्राचीन पुर्खाहरूले नुन बोक्दा रेकर्ड राख्ने भन्सार डाँडाको इतिहास बोकेको नुवाकोटगढी इतिहास अध्ययन गर्ने स्थल मात्र होइन तराई हेर्ने डाँडाको रुपमा परिचित छ ।
पाल्पाको तिनाउ गाउँपालिका वडा नं २ मा रहेको यो स्थानमा केही समय अघिसम्म पैदल यात्राबाट मात्रै पुग्न सकिने भएपनि अहिले पक्की मोटर बाटोको सहज व्यवस्था भएकाले धेरैको पहुँचमा पुग्न थालेको हो ।

बुटवलबाट करिब १० किलोमिटर उकालो पक्की बाटोबाट पुग्न सकिने यो स्थानमा करिब ४ देखि ६ डिग्री तापक्रम बजार क्षेत्रको भन्दा कम हुने भएकाले धेरैको गन्तव्य बनेको हो ।
बुटवलको मणि मुकुन्द सेन उद्यान र बुटवल मावि गेटबाट पुरानो सिँढीको पैदलमार्ग करिब साढे दुई घण्टा, बेलबास शान्ति चोकबाट ८ किलोमिटर पक्की उकालो बाटो, पाल्पाको दोभानबाट करिब ५ किलोमिटर ग्राभेल बाटोबाट पुग्न सकिने नुवाकोट गढीमा अहिले बुटवलबाट केबलकार सञ्चालनको लागि निर्माणाधीन अवस्थामा छ । यही आर्थिक वर्षमा केबलकार निर्माण सक्ने गरी काम थालेको निर्माण कम्पनीले जनाएको छ ।

बुटवल, भैरहवाजस्ता शहर हेर्न पर्यटकहरू यहाँ पुग्ने गरेका छन् । वरिपरि रहेको घना जङ्गलको हरियालीले यहाँको सुन्दरता थपेको छ ।
डाँडाकाँडा, वनजङ्गल, नदीनालादेखि समथर फाँटको दृश्यले सबैको मन लोभ्याउने गरेको छ । कामको बोझले थकित भएका दिमागहरूलाई पुनर्ताजगी बनाउन, युवायुवतीको जीवनलाई प्रेममय बनाउन, नयाँ–नयाँ सोच, विचार, रुचिलाई जगाउन, मनमोहक दृश्य हेर्नकै लागि पर्यटकहरू नुवाकोट पुग्ने गरेका छन् ।
व्यवसायीले गुरुयोजनाअनुसार भौतिक संरचनाको विकास गर्नुपर्ने भन्दै सडक, खानेपानी, नुवाकोटगढीको उत्खननलगायतका कामलाई समेत प्राथमिकता दिएका छन् । यहाँ विकासका सामान्य पूर्वाधार तयार छन् ।

यहाँ लुम्बिनी प्रदेश सरकारले सांस्कृतिक डबली निर्माणका लागि दिएको दुई करोड बजेटबाट काम भएको छ । वेलबास–नुवाकोट–दोभान सडक निर्माण पूरा भएपछि सिद्धबाबा क्षेत्रको जोखिम छल्न सिद्धार्थ राजमार्गमा चल्ने सवारी साधनले समेत यो सडकलाई वैकल्पिक सडकको रूपमा प्रयोग गर्न थालेका छन् ।
नेपाल–अङ्ग्रेज युद्धमा नेपाली वीरले अङ्ग्रेजलाई पराजित गरेको ऐतिहासिक जीतगढी किल्लाको सहायक गढी र गौतम बुद्धका पिता शुद्धोधनका गुरु ऋषि कालदेवलको आश्रम स्थलका लागि नुवाकोट प्रसिद्ध छ ।
नुवाकोटमा भगवती मन्दिर, भैरव कामना मन्दिर, खड्ग मन्दिर, राजा मणि मुकुन्द सेनको ग्रिष्मकालीन दरबारको भग्नावशेष, तोपाहान क्षेत्र, खरखजाना घर, राजा शुद्धोधनका गुरु ऋषि कालदेवल (आशुतोष)को आश्रम स्थल, ऐतिहासिक रानीकुवाको संरक्षणका लागि गुरुयोजनाको प्रस्ताव अघि सारिएको छ । केही काम सुरु भएका छन् भने केही योजनामा छन् ।

बुटवल क्षेत्रबाट जाडो महिनामा घाम ताप्न र गर्मी महिनामा शीतल हावा खादै तराईका समथर फाँट, रुपन्देही नवलपरासीका विभिन्न सहरहरूको दृश्यावलोकन गर्दै भारतको सुनौली, नौतनुवासम्मको भू–भाग हेर्न आन्तरिक तथा बाह्य पर्यटकहरू नुवाकोटमा पुग्ने गरेका छन् ।
यहाँबाट बुटवलदेखि भैरहवासम्मको सबै दृश्यहरू देखिने, इतिहासबारे जानकारी लिने र डाँडाबाट प्राकृतिक आनन्द लिनको लागि कलेजका ४० विद्यार्थीसहित हिँडेरै यस क्षेत्रमा घुम्न आएको बुटवलको एम्स कलेजका प्राचार्य दीपक ढकालले बताउनुभयो ।

नुवाकोट डाँडा पर्यटकहरूको लागि सेल्फी डाँडा बनेको छ । तराईका फाँटदेखि बुटवलको घना बस्ती क्यामेरामा कैद गर्न चलचित्र तथा वृत्तचित्र निर्माताहरू नुवाकोट डाँडामा पुग्ने गरेका छन् ।
नुवाकोट डाँडाबाट बुटवल शहर बस्ती विकासको अवस्था, तिनाउ नदीको सुन्दरता, चुरे क्षेत्रको अवस्था, वन वातावरणको अवस्था, बढ्दै गएको शहरीकरणको बारेमा सही योजना बनाउन सकिन्छ । पर्यटकहरूको आगमन बढेपछि नुवाकोट डाँडामा दृश्यावलोकनको लागि तिनाउ गाउँपालिकाले भ्यु प्वाइन्ट, सुरक्षाको लागि रेलिङबार तथा वनभोज स्थल निर्माण गरेको तिनाउ गाउँपालिका अध्यक्ष प्रेम श्रेष्ठले बताउनुभयो ।

निजी क्षेत्रसँगको सहकार्यमा पालिकाले इतिहास संरक्षणको साथै पर्यटन प्रवद्र्धनका योजना बनाउने उहाँले बताउनुभयो । सबैको आकर्षणको केन्द्र तथा पर्यटकीय गन्तव्यको रूपमा परिचित हँुदै गएको यो क्षेत्रमा पुग्न पुरानो बुटवलको माथिल्लो डाँडादेखि नुवाकोटसम्मको केबलकार निर्माणको अन्तिम चरणमा छ । करिब ४ अर्ब लगानीमा केबलकार निर्माण भएपछि बुटवलबाट पर्यटकहरू पाँचदेखि ७ मिनेटमै नुवाकोटगढी पुग्नेछन् ।
नुवाकोट आफैमा ऐतिहासिक तथा पुरातात्त्विक महत्त्वको ठाउँ भएकोले गाउँपालिका,प्रदेश र संघीय सरकारको लगानीमा थप पूर्वाधार निर्माण हुन लागेको छ । नेपाल अङ्ग्रेज युद्ध स्थल भएकोले नुवाकोटगढीको अवलोकन गर्न इतिहासविद्देखि विद्यालय तथा विश्वविद्यालयमा अध्ययनरत हजारौँ विद्यार्थीहरू आउन थालेको नुवाकोट विकास समितिका अध्यक्ष माधव नेपालको भनाइ छ ।

“नुवाकोटको प्राचीन इतिहास जोडेर यसको दीर्घकालीन विकासका योजना बनाएका छौँ, हामीले बनाएका योजनालाई तीनै तहका सरकारले अपनत्व लिएर दीर्घकालीन योजना बनाउन जरुरी छ, शहरी क्षेत्रको कोलाहलबाट मुक्त हुने स्थलको रुपमा यसलाई विकास गरिरहेका छौँ”– अध्यक्ष नेपालले भन्नुभयो ।
नुवाकोटमा निजी क्षेत्रले पर्यटन पूर्वाधारका ठूला आयोजनामा लगानी गरिरहेका छन् । थ्री स्टार लेबलको होटलदेखि अन्य होटलहरु निर्माण भइरहेका छन् । गर्मी र जाडो मौसमका लागि अनुकूल र रमणीय स्थल भएकाले व्यवसायी यहाँ लगानी गर्न हौसिएका हुन् ।

आन्तरिक पर्यटकको सङ्ख्या बढेपछि यहाँ पर्यटनको सम्भावना देखेर व्यवसायीको आकर्षण बढेको छ । दिनभर बुटवलमा व्यवसाय गरेर साँझ फर्कने गरी विश्रामस्थल बनाउने गरी उद्योगी व्यवसायीको समेत आकर्षण बढेको पर्यटन व्यवसायी नकुल शाही बताउनुहुन्छ ।
नुवाकोट विकास समितिले यसको व्यवस्थित गुरुयोजना निर्माणका लागि पहल थालेको छ । यहाँ विश्रामस्थल र घरबासको रूपमा घर निर्माण गर्ने योजना छ । नुवाकोटमा निर्माण हुने घरमा काठ मात्र प्रयोग गर्ने, एउटै डिजाइनमा निर्माण गर्ने, एउटै कलर बनाउने र दुई तलाभन्दा अग्लो बनाउन नमिल्ने मापदण्ड बन्दैछ । यो मापदण्डलाई ध्यानमा राखेर गुरुयोजना निर्माणको काम भइरहेको अध्यक्ष नेपालले काम भइरहेको बताउनुभयो ।

नुवाकोटको इतिहासका बारेमा किताबमा पढेको प्रत्यक्ष हेर्नका लागि आएको बताउने बुटवलको नवीन स्कुलकी छात्रा कृष्टिना आचार्यले नेपाल र अङ्ग्रेज फौजबीचको लडाई र सेन राजाले बनाएका पूर्वाधारका भग्नावशेषहरु देख्न पाउँदा खुशी लागेको बताउनुभयो ।
बुटवल उपमहानगरपालिका वडा नं ४ का भूमिराज पौडेल नियमित जसो नुवाकोट चढ्ने गर्नुहुन्छ । साथीहरूसँग नुवाकोटमा हिँड्दा स्वास्थ्यका दृष्टिबाट फाइदा मिलेको र बजारको कोलाहलबाट थोरै समय भएपनि मन भुलाउन नुवाकोट उपयुक्त गन्तव्य भएको उहाँ बताउनुहुन्छ । परापूर्वकालमा नुन, घ्यु र कपडाको व्यापार गर्न बटौली बजार गर्न आउने यो गोरेटो बाटोलाई संरक्षण गर्न उनको सुझाव छ ।
आन्तरिक र बाह्य पर्यटकलाई भुलाउन सकिने हाइकिङको राम्रो सम्भावना नुवाकोटलाई बनाउन सकिने स्वास्थ्य र पर्यावरण जोगाउने रुपमा हाइकिङ धेरै उपयोगी हुने नाटा लुम्बिनीका अध्यक्ष रचना पन्तले बताउनुभयो ।
प्राकृतिक पर्यटकीय सम्पदाले घेरिएको क्षेत्र भएपनि पर्याप्त योजना बनाउन नसकेका कारण व्यवस्थापन गर्न नसकिएको बताउँदै उहाँले सरकार र निजी क्षेत्रको सहकार्यमा पर्यटकीय क्षेत्रहरूको विकाससँगै प्रचार गरेर पर्यटन प्रवद्र्धन गर्न सकिने सुझाव दिनुभयो ।

तिनाउ गाउँपालिका वडा नं २ का वडाअध्यक्ष यादवप्रसाद अर्यालले गाउँका जातिगत, भाषा, भेषभूषा र संस्कृतिलाई चिनाउने गरी योजनाहरू तयार गरेको, स्थानीय मगर, कुमाल जाति र समुदायका संस्कृतिलाई जगेर्ना हुने गरी आवधिक पाँचवर्षे योजना बनाइरहेको बताउनुभयो ।
सांस्कृतिक डबलीमा कल्चरल कार्यक्रमहरू गर्ने र पर्यटकहरूलाई मनोरञ्जन दिने गरी तयारी गरिरहेको र लोप हुन लागेको संस्कृति जगेर्ना र अर्कोतर्फ आयस्तरमा टेवा दिने गरी योजना बनाउने उहाँको भनाइ छ ।

ऐतिहासिक नुवाकोटगढीको अध्ययन, अवलोकन, बुटवलसहित तराइको समथर फाँट, माछापुच्छ्रे हिमालको अवलोकन र गाउँले बसाइको अनुभूतिका लागि नुवाकोटमा आउने पर्यटकको व्यवस्थापनका लागि विकास समिति, यहाँका लगानीकर्ता तथा स्थानीय सरकारले अल्पकालीन र दीर्घकालीन योजना बनाउन जरुरी छ । यहाँ अहिले दैनिक आन्तरिक पर्यटक वनभोज, क्याम्प फायरिङ तथा घुमफिरका लागि आउन थालेपछि बढेको फोहोर व्यवस्थापन चुनौती बनेको छ ।
जङ्गलमा निगाली बाघ, हरिण, मृग, बँदेल, मयुरलगायतका जनावर तथा पन्छी प्रशस्त भेटिन्छन् । नुवाकोट जङ्गल सफारी गर्न, वन्यजन्तुहरू हेर्न, गर्मी वा जाडो छल्न र तराइको समथर भूमि एकै चोटि अवलोकन गर्न निकै उपयुक्त र रमणीय स्थल मानिन्छ । पुरातात्त्विक विषयमा अध्ययनकर्ताका लागि समेत नुवाकोट फरक गन्तव्य बन्न सक्नेछ ।







प्रतिक्रिया राख्नुहोस्