तपाईँ सुन्दै हुनुहुन्छः

पहिलो पटक मुसहर महिलाको अगुवाइमा सडक निर्माण

सर्लाही  । सर्लाहीको हरिपुर नगरपालिका वडा नं ५ मर्जुवामा मुसहर महिला सशक्तिकरण मञ्चका महिलाहरूले पहिलो पटक आफ्नो अगुवाइमा सडक निर्माण गरेका छन् । 

मुसहर महिलाहरूले वडा कार्यालयबाट प्राप्त ४ लाख रुपैयाँ बजेट बाट ७५ मिटर सडक ढलान निमार्ण कार्य सम्पन्न गरेका हुन । 

मर्जुवा मुसहर महिला सशक्तिकरण मञ्चका अध्यक्ष सङ्गीता देवी माझीको अध्यक्षतामा सात सदस्यीय मुल सडक भुइस्थान सडक उपभोक्ता समिति गठन गरी उनीहरूको सक्रियतामा निर्माण कार्य सम्पन्न गरेको हरिपुर नगरपालिका वार्ड नं ५ का वडा अध्यक्ष सुरेन्द्रप्रसाद चौधरीले बताउनुभयो  । 

महिला समूहको पहलमा विकास निमार्ण हुँदा आर्थिक अनियमितता नहुने र काम पनि समयमा सम्पन्न भएको चौधरीले बताउनुभयो  । यसभन्दा अगाडि मुसहर महिलाहरू सामाजिक विकासको काममा चासो नदिएकोले विकासमा पछाडि परेको र कहिल्यै पनि कुनै विकास निर्माण तथा उपभोक्ता समितिमा आबद्ध नभएको अवस्था थियो । 

समूहमा आबद्ध भएपछि वडा कार्यालयबाट बजेट माग गरेर समितिमा महिलाहरू स्वयम बसेर प्रत्यक्ष निगरानीमा बाटो ढलान निर्माण सम्पन्न गरेको समूहकी अध्यक्ष सङ्गीता देवी माझीले जानकारी दिनुभयो  ।

 महिलाहरूले ढलानमा पानी हाल्ने, सरसफाइ गर्ने काममा समेत सहयोग गरेको थिए । अन्डेफ तथा साउथ एसिया पार्टनरसिप नेपाल (साप–नेपाल) को सहयोगमा हरिपुर नगरपालिकामा सञ्चालित नेपालका स्थानीय सरकारमा लैङ्गिक उत्तरदायी सुशासन प्रवर्धन कार्यक्रम अन्तर्गत मुसहर महिला सशक्तिकरण मञ्च गठन गरिएको थियो।

उक्त मञ्चमा ५० सदस्यहरु रहेका छन् । मञ्चले आफ्ना सदस्यहरूलाई विभिन्न जनचेतना मूलक कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ ।

कार्यक्रमबाट मुसहर महिलाहरूको नेतृत्व क्षमता विकास भएको छ । मञ्चको नेतृत्वमा उनीहरूले मुसहर बाल बालिकाहरूको जन्मदर्ता, नागरिकता बनाउने, विद्यालय भर्ना गर्ने , लैङ्गिक हिंसा विरुद्ध जनचेतनामूलक र्‍यालीको आयोजना , स्थानीय सरकारसँग बजेट तथा योजना माग गर्ने तथा सामूहिक खेती तथा बंगुरपाल गर्दै आएको साप नेपालका कार्यक्रम संयोजक जनक कार्कीले जानकारी दिनुभयो  । 

हाल हरिपुर नगरपालिकामा १० बटा मुसहर महिला सशक्तिकरण मञ्च गठन गरि कृषि तथा पशु कार्यालयमा दर्ता गरिएको छ । उक्त मञ्चमा ५ सय सदस्यहरु रहेका छन् भने सर्लाही जिल्लामा चन्द्रनगर, बरहथवा र बसबरियामा ३२ वटा समूह मा १६ सय मुसहर महिलाहरू आबद्ध भएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button