तपाईँ सुन्दै हुनुहुन्छः

मोरङमा कोभिड नियन्त्रण, रोकथामका लागि सचेतना अभियान शुरु

मोरङ । कोभिड–१९ को नयाँ स्वरूप छिमेकी देशहरूमा देखा पर्न थालेपछि यसको नियन्त्रण, रोकथामका लागि मोरङमा सचेतना अभियान शुरु गरिएको छ ।

मोरङ जिल्ला समन्वय समितिको आज बसेको बैठकले सार्वजनिक यातायातका साधन तथा भिडभाड हुने स्थानमा स्वास्थ्य मापदण्ड अपनाउने, भौतिक दुरीको पालना अनिवार्य गराउने, व्यक्तिगत सरसफाइ लगायतको जानकारी स्थानीय तहमार्फत प्रचारप्रसार गर्ने, नेपाल पत्रकार महासङ्घमार्फत सन्देशमूलक सामाग्रीको प्रचार प्रसारको व्यवस्था गर्ने जस्ता निर्णय गरेको छ ।

यसैगरी मोरङको नेपाल भारतको सीमा नाकामा निगरानी बढाउने, शङ्कास्पद व्यक्तिहरूको ट्रयास, टेष्ट र ट्रिट गर्ने पद्धति स्थानीय तह र स्वास्थ्य निकायमार्फत गराउन क्रियाशील बनाउने, जिल्लाका स्थानीय तहमा स्वास्थ्य संस्थालाई तयारी अवस्थामा राख्ने र कोभिड खोप लिन छुटेका र बुस्टर डोज लिन बाँकी नागरिकहरूलाई खोपको व्यवस्था गर्ने जस्ता निर्णय भएको मोरङका निमित्त प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले बताउनुभयो । निमित्त प्रजिअ पोखरेलले सम्पूर्ण कार्यालयमा सेवाग्राहीहरूलाई मास्क, साबुनपानीले हात धुने, स्यानिटाइजरको व्यवस्थाको लागि निर्देशन दिने बताउनुभयो ।

सो अवसरमा मोरङ जिल्ला समन्वय समितिका प्रमुख अजम्बर राईले स्थानीय तहले नागरिकको स्वास्थ्य सुरक्षाप्रति संवेदनशील भई कोभिड प्रकोप फैलन नदिने कार्य गर्नुपर्नेमा जोड दिनुभयो ।

बैठकमा भैरव गण थलहाका प्रमुख सेनानी अमृत थापा मगर, सशस्त्र प्रहरी बल नेपाल नं ३ गणका नायब उपरीक्षक सुमन पोखरेल, जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक टिका बहादुर कार्की, राष्ट्रिय अनुसन्धान कार्यालय मोरङका प्रमुख अनुसन्धान अधिकृत हिरा भट्टराई र गैरसरकारी महासङ्घका उपाध्यक्ष विष्णु पन्त, विराटनगर महानगरपालिकाका कार्यकारी अधिकृत विष्णुप्रसाद कोइरालाले कार्यालयमा स्वास्थ्य मापदण्ड अपनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button