तपाईँ सुन्दै हुनुहुन्छः

समुन्नत प्रदेश निर्माण गर्न सकिन्छ : मुख्यमन्त्री राई

मोरङ । प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले निजी क्षेत्रको सहयोगबाट समुन्नत प्रदेश निर्माण गर्न सकिने बताउनुभएको छ ।

‘विराट एक्स्पो’ समापनका अवसरमा आज एक्स्पोका सहयोगीलाई प्रशंसापत्र वितरण गर्दै उहाँले यस क्षेत्रका उद्योगीले निर्यातमूलक उद्योग स्थापना गरी रोजगारी सिर्जना र व्यापार घाटा कम गर्नुका साथै समृद्ध प्रदेश निर्माण गर्न सकिने धारणा राख्नुभयो ।

मुख्यमन्त्री राईले एक्स्पोको माध्यमबाट प्रदेशका पर्यटकीयस्थलको प्रचारप्रसार भई आगामी दिनमा यस्ता कार्यक्रमले थप महत्व पाउने विश्वास व्यक्त गर्नुभयो ।

स्वास्थ्यमन्त्री जयराम यादवले एक्स्पोको सञ्चालनबाट दक्षिण क्षेत्रमा आर्थिक चलायमान भएकोमा खुसी व्यक्त गर्नुभयो ।

विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले उद्योगीको चाहनाअनुरुप अन्तर्राष्ट्रियस्तरको प्रदर्शनी स्थापनाका लागि आवश्यक छलफल गर्न निजी क्षेत्रलाई आग्रह गर्नुभयो ।

उद्योग सङ्गठन मोरङका अध्यक्ष सुयश प्याकुरेल, एक्स्पो संयोजक भोलेश्वर दुलाललगायतले एक्स्पोको माध्यमबाट निजी क्षेत्रले प्रदेशमा उद्योग एवं व्यापार स्थापनामा सहयोग पुग्ने आशा व्यक्त गर्नुभयो ।

मङ्सिर २९ गतेदेखि पुस १० गतेसम्म सञ्चालन भएको एक्स्पोमा नेपाली र भारतीय गरी तीन लाख बढी दर्शकले अवलोकन गरेको आयोजक जनाएका छन् ।

एक्स्पोमा विभिन्न विधाका तीन सय ६१ स्टल राखिएका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button