नेपाल टी–ट्वान्टी लिग: लुम्बिनी अल स्टार विजयी
काठमाडौँ । पहिलो संस्करणको फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल टी–ट्वान्टी लिग अन्तर्गत दोस्रो दिनको पहिलो खेलमा लुम्बिनी अल स्टार विजयी भएको छ । लुम्बिनीले विराटनगरलाई २ रनले पराजित गरेको छ ।
लुम्बिनीले दिएको १ सय ५८ रनको लक्ष्य विराटनगरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५५ रन मात्र बनायो ।
त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिलो ब्याटिङ सुरु गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ५७ रन बनायो ।
दोस्रो खेलमा जित हात पारेको लुम्बिनी ४ अङ्कका साथ अङ्क तालिकाको शीर्ष स्थानमा रहेको छ । हारसँगै पहिलो खेल खेलेको विराटनगर अङ्कविहीन रहेर अङ्क तालिकाको तेस्रो स्थानमा रहेको छ ।
अर्को खेलका जनकपुर रोयल्सले नेपाल टी–ट्वान्टी लिगमा विजयी सुरुआत गरेको छ । टियु क्रिकेट मैदानमा आइतबार पोखरा एभेन्जर्सलाई ५ विकेटले हराउँदै जनकपुरले सुखद सुरुआत गरेको हो ।
पोखराको भने यो लगातार दोस्रो हार हो । पहिलो खेलमा पोखरालाई काठमाडौँ नाइट्सले हराएको थियो । पोखराले दिएको १ सय ३९ रनको लक्ष्य जनकपुरले १७ ओभर ४ बलमा ५ विकेट गुमाएर १ सय ३९ रन जोड्दै पूरा गर्यो ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पोखराले १९.४ ओभरमा अलआउट हुँदै १ सय ३८ रन बनाएको थियो । यस जितसँगै जनकपुरले पहिलो खेलमा २ अङ्क जोडेको छ । जनकपुर तेस्रो स्थानमा रहेको छ ।
पोखराले दुई खेलमा अङ्क जोड्न सकेको छैन ।
यस प्रतियोगिताको फाइनल खेल २७ गते हुनेछ । डबल राउण्डमा हुने यस लिगमा ३४ खेल हुनेछ । यस लिगको विजेताले ५५ लाख पाउने जनाएको छ ।
यस्तै उपविजेताले ३० लाख नगद पुरस्कार प्राप्त गर्दा तेस्रो हुनले १० लाख र चौथोले ५ लाख पाउने छ । त्यस्तै प्लेयर अफ द सिरिजले ५ लाख प्राप्त गर्दा उत्कृष्ट बलर र उत्कृष्ट ब्याटरले २ लाख ५० हजार पाउने छन् ।
इमर्जिङ प्लेयरले १ लाख ८० हजार पाउने छ । प्रतियोगिताको हरेक दिन दुई खेल हुनेछ । पहिलो संस्करणको लिगमा ६ टोलीको सहभागिता रहने छ । यस लिगमा काठमाडौँ नाइट, पोखरा एभेन्जर्स, फार वेस्टर्न युनाईटेड, जनकपुर रोयल्स, विराटनगर सुपर किंग्स र लुम्बिनी अल स्टार रहेका छन् ।








प्रतिक्रिया राख्नुहोस्