यस वर्षको भैरव पुरस्कार वासुदेव विद्यादेव लुइँटेल गुठीलाई प्रदान

काठमाडौँ । यस वर्षको भैरव पुरस्कार वासुदेव विद्यादेव लुइँटेल गुठीलाई प्रदान गरिएको छ ।
नेपाली हास्यव्यङ्ग्य साहित्यका विराट प्रतिभा भैरव अर्यालको ८७ औँ जन्मजयन्तीको अवसरमा भैरव पुरस्कार गुठीले आज आफ्नो कार्यालय जोरपाटीमा एक कार्यक्रम गरी उक्त पुरस्कार समर्पण गरेको हो ।
भैरव पुरस्कारको राशि १ लाख ११ हजार १ सय ११ रुपैयाँ रहेको छ ।
यसैगरी, साहित्यकार विश्वम्भर चञ्चललाई भैरव वाङमय पुरस्कार र कलकार रामचन्द्र अधिकारीलाई भैरव प्रतिभा पुरस्कार प्रदान गरिएको छ।
त्यस्तै भैरव वाङ्मय पुरस्कारको राशि १ लाख १ हजार १ सय ११ र भैरव प्रतिभा पुरस्कारको राशि ५१ हजार १ सय ११ रुपैयाँ रहेको छ । गुठीका अध्यक्ष समेत रहनुभएका वरिष्ठ साहित्यिक पत्रकार रोचक घिमिरेले उक्त पुरस्कारहरू समर्पण गर्नुभएको हो ।
कार्यक्रममा भैरव अर्यालको साहित्यिक योगदानबारे साहित्यकारहरू विजय चालिसे, प्राध्यापक डा.सुष्मा आचार्य, गोविन्द घिमिरे, वसन्त रिजाल, गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपक रिसाल लगायतले चर्चा गर्नुभयो ।
कार्यक्रममा वासुदेव लुइँटेलको साहित्यिक योगदानबारे डा.मुकेश चालिसेले र साहित्यकार विश्वम्भर चञ्चलको योगदानबारे डा.ध्रुव घिमिरेले जानकारी गराउनुभयो । त्यस्तै, कलाकार रामचन्द्र अधिकारीको योगदानका विषयमा अर्का कलाकार कृष्ण मल्लले अवगत गराउनुभयो ।
पुरस्कृत स्रष्टाहरू विश्वम्भर चञ्चल र रामचन्द्र अधिकारीले भैरव अर्यालको नाम जोडिएको पुरस्कार पाउनु आफूहरूका लागि गर्वको विषय भएको बताउनुभयो ।
कार्यक्रममा भैरव अर्यालका कविताहरू एकीकृत गरेर प्रकाशित कृति ‘भैरव कवितावली’ सार्वजनिक गरिएको थियो ।
पुरस्कार प्राप्तिकर्ताहरूको नाम छनौट गर्न गुठीले साहित्यकार गोविन्दप्रसाद घिमिरे ‘वेदमणि’ को संयोजकत्वमा साहित्यकार प्रल्हाद पोख्रेल र व्यङ्ग्यकार नरनाथ लुइँटेल सदस्य रहनुभएको समिति बनाएको थियो ।








प्रतिक्रिया राख्नुहोस्