तपाईँ सुन्दै हुनुहुन्छः

नेपाल टी २० लिग विजेताले नगद ५५ लाख पाउने

काठमाडौँ । नेपाल क्रिकेट संघ क्यानको आयोजनामा हुन लागेको पहिलो संस्करणको नेपाल टी २० लिग क्रिकेटको विजेताले नगद ५५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने भएको छ ।

पटक पटक सर्दै आएको प्रतियोगिता शनिबारदेखि सुरु हुने भन्दै क्यानले शुक्रबार काठमाडौँमा गरेको पत्रकार सम्मेलनमा प्रतियोगिताको तयारीका साथै पुरस्कारको विषयमा जानकारी गराइएको हो ।

पत्रकार सम्मेलनमा नेपाल टी–२० लिगका निर्देशक जतिन अग्रवालले प्रतियोगिताबारे जानकारी गराउँदै पहिलोदेखि चौथो स्थानमा रहने टिमले प्राप्त गर्ने पुरस्कार राशिको विषयमा जानकारी दिनुभयो ।

पहिलो हुने टिमले नगद ५५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्दा दोस्रो हुने टिमले ३० लाख नगद प्राप्त गर्ने छ । यसैगरी तेस्रो हुने टिमलाई नगद १० लाख रुपैयाँ पुरस्कार दिइने छ भने चौथो हुने टिमले पनि नगद ५ लाख प्राप्त गर्ने छ ।

प्लेयर अफ दी सिरिजलाई नगद ५ लाख प्रदान गर्दा वेस्ट बलर र बेस्ट ब्याटरले समान २ लाख ५० हजार प्राप्त गर्ने छन् । यसैगरी इमर्जिङ प्लेयरले नगद १ लाख ८० हजार पाउने छन् ।

नेपाल टी २० लिग शनिबारदेखि त्रिवि क्रिकेट मैदानमा हुने छ र पहिलो संस्करणमा ६ टिमले सहभागिता जनाएका छन् । उद्घाटन खेलमा पोखरा एभेन्जर्स र काठमाडौँ नाइट भिड्ने भएका छन् भने भोलि नै हुने अर्को खेलमा लुम्बिनी अल स्टार्स र फार वेस्टर्न युनाईटेड आमनेसामने हुने छन् । प्रतियोगिता डबल राउन्ड रोविनको आधारमा हुनेछ ।

प्रतियोगितामा काठमाडौँ नाइट्स, पोखरा एभेन्जर्स, विराटनगर सुपर किंग्स, लुम्बिनी अल स्टार्स, जनकपुर रोयल्स र फार वेस्टर्न युनाइटेड रहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button