तपाईँ सुन्दै हुनुहुन्छः

‘पर्यटन क्षेत्रको विकासका लागि नवीन कार्यशैली अपनाउनुपर्छ’

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले मुलुकको पर्यटन क्षेत्रको विकासका लागि नवीन कार्यशैली अपनाउनुपर्ने बताउनुभएको छ ।

मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा मन्त्री श्रेष्ठले मुलुक सङ्घीयतामा गए पनि काममा पुरानै प्रवृत्ति रहेको भन्नुहुँदै पर्यटन क्षेत्रको विकासका लागि नवीन कार्यशैलीको आवश्यकता रहेको उल्लेख गर्नुभयो ।

मन्त्री श्रेष्ठले पर्यटन क्षेत्रको उन्नयनका लागि संघ, प्रदेश र स्थानीय तहबीच आपसी समन्वय र सहकार्य हुनुपर्नेमा जोड दिनुभयो । उहाँले पूर्वाधारको विकास गरी निजी क्षेत्रको समन्वयमा बाह्रै महिना नेपाललाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्नुपर्ने धारणा राख्नुभयो ।

पत्रकार सम्मेलनमा नेपाल पर्यटन दशक २०२३ देखि २०३२ को रणनीतिक कार्ययोजना तयार गर्न विज्ञहरूले तयार पारेको रूपरेखाका सम्बन्धमा जानकारी गराइएको थियो ।

विज्ञहरूले तयार पारेको खाकामा बहुपक्षीय पूर्वाधार विकास र पर्यटन क्षेत्रको पुनरुत्थानका साथै पर्यटक आगमन प्रति वर्ष १५ प्रतिशतले वृद्धि गरी ३५ लाख पुर्‍याउने र मुलुकको कुल गार्हस्थ्य उत्पादनमा पर्यटन क्षेत्रको योगदानलाई १० प्रतिशत कायम गर्ने लक्ष्य राखिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button