ब्याडमिन्टनको उपाधि श्रेष्ठ र खनाललाई
सोलुखुम्बु । सोलुखुम्बुमा सम्पन्न प्रथम डि.बी. किराँती (थुलुङ) स्मृति खुला पुरुष डबल ब्याडमिन्टन प्रतियोगिताको उपाधि सोलुखुम्बु ब्याडमिन्टन संघका अर्जुन श्रेष्ठ र आशिष खनालले जित्नुभएको छ ।

खेलमा लुक्लाका लाक्पातेन्जी तामाङ र अनुज तामाङ दोस्रो हुनुभएको छ । ओखलढुङ्गाका श्रवण चौधरी र सञ्जय राईको टिम तथा काठमाडौँका गणेश ढुङ्गेल र नारायण गौतम तेस्रो हुनुभयो ।
महिला डबलतर्फ काठमाडौँका सोमा गुरुङ र निकिता लामाको टिम पहिलो, सोलुखुम्बु ब्याडमिन्टन संघका पूजा मगर र माया राई दोस्रो, सोलुखुम्बुकै सरिता राई र कला राई तथा ओखलढुङ्गाका प्रेमु राई र काठमाडौँका टसी शेर्पा तेस्रो हुनुभयो ।
पुरुष ३५ वर्ष माथिको उमेर समूहमा काठमाडौँका नारायण गौतम र सोलुखुम्बु लुक्लाका ल्हाक्पातेन्जिङ तामाङ पहिलो, ओखलढुङ्गाका राम राई र हित राई दोस्रो र सोलुखुम्बु ब्याडमिन्टन संघका रघुनाथ खनाल र फूर्वाग्याल्जेन शेर्पा तथा सोलुखुम्बु सल्लेरीका तुला मगर र निर्मल श्रेष्ठ तेस्रो हुनुभएको खेल संयोजक अर्जुन श्रेष्ठले जानकारी दिनुभयो ।
१५ वर्ष मुनीको पुरुष एकलतर्फ काठमाडौँका सुभम श्रेष्ठ पहिलो, काठमाडौँकै शिभम श्रेष्ठ दोस्रो र सोलुखुम्बु ब्याडमिन्टन संघका रोमी तामाङ र विशाल तामाङ तेस्रो हुनुभएको छ ।
डि.बी किराँती (थुलुङ) स्मृति प्रतिष्ठान र सोलुखुम्बु जिल्ला ब्याडमिन्टन सङ्घको संयुक्त आयोजनामा भएको प्रतियोगितामा सोलुखुम्बुसहित ओखलढुङ्गा, खोटाङ, उदयपुर, सिन्धुपाल्चोक, सुनसरी, सिराहा, सप्तरी, काठमाडौँ, कास्कीको पोखरा लगायतका जिल्लाका खेलाडीहरूको सहभागिता रहेको थियो ।
प्रतियोगितामा १५ बर्ष मुनीको सिङ्गल पुरुषतर्फ १४ जना, खुला महिलातर्फ आठ टिम, खुल्ला पुरुषतर्फ १७ टिम र ३५ बर्ष माथिको डबल पुरुष तर्फ १२ टिमले सहभागिता जनाएका थिए ।
ब्याडमिन्टन प्रतियोगिताको सबै इभेन्टमा प्रथम र द्वितीय हुनेलाई क्रमशः नगद १५ हजार र सात हजार ५ सय रुपियाँको साथमा ट्रफी, मेडल र प्रमाण–पत्र प्रदान गरिएको छ भने तृतीय हुने दुई जनालाई नगद पाँच/पाँच हजारको साथमा ट्रफी, मेडल र प्रमाण–पत्र प्रदान गरिएको छ ।








प्रतिक्रिया राख्नुहोस्