तपाईँ सुन्दै हुनुहुन्छः

कैलालीमा सुनचाँदी पसल बन्द, उद्योग वाणिज्य संघद्वारा सुरक्षा माग

धनगढी  । गोली प्रहारबाट सुनचाँदी व्यवसायी विकास सुनार घाइते भएको घटनापछि कैलालीको अत्तरिया क्षेत्रका सुनचाँदी पसल बन्द गरिएको छ । 

असुरक्षा बढेको भन्दै आज बिहानदेखि सम्पूर्ण पसल बन्द गरिएका सुनचाँदी ब्यवसायीहरुको भनाई छ । 

सुरक्षा घेराभित्र पर्ने अत्तरिया बजार क्षेत्रमा ज्यान लिने उद्देश्यले व्यवसायीमाथि गोली प्रहारको घटनापछि सबै व्यवसायीहरूले असुरक्षित महसुस गरिरहेको भन्दै सुनचाँदी व्यवसायी संघ कैलालीले घटनामा संलग्नलाई पक्राउ गर्न माग गरेको छ । 

घोडाघोडी नगरपालिका १ सुखड घर भई अत्तरियामा सुनचाँदी पसल रहेका विकास सुनार माथि हिजो साँझ दुई जनाको समूहले गोली प्रहार गरि झोला लुटपाट गरेका थिए । गोली प्रहारबाट घाइते सुनारको माया मेट्रो अस्पतालमा उपचार भइरहेको र स्वास्थ्य अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ । 

पसल बन्द गरी घरतर्फै जाँदै गरेको अवस्थामा सुनार माथि अपाचे मोटरसाईकलमा आएका दुई जनाको समूहले अत्तरिया बजार क्षेत्र नजिकै सशस्त्र प्रहरी क्याम्प अगाडि गोली प्रहार गरेको र उनीहरूको खोजी कार्यमा प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । 

यसैबिच अत्तरिया उद्योग वाणिज्य सङ्घले प्रेस विज्ञप्ति जारी गर्दै घटनामा संलग्नलाई तत्काल कानुनी दायरामा ल्याउँदै ब्यवसायीहरुको सुरक्षा माग गरेको छ । सङ्घले घटनाको घोर भर्त्सना गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button