तपाईँ सुन्दै हुनुहुन्छः

महोत्तरीको भंगहामा थारु सङ्ग्रहालय बन्ने

महोत्तरी।  भंगहा नगरपालिका–७ मा थारु सङ्ग्रहालय बन्ने भएको छ । 

थारु सङ्ग्रहालय निर्माण स्थलको निरीक्षणपछि आयोजित एक कार्यक्रममा सहरी विकास मन्त्री मेटमणि चौधरीले त्यहाँ थारु सङ्ग्रहालय  निर्माण गर्ने घोषणा गर्नुभएको हो । 

थारु जाती इमानदार र मेहनती भएको बताइनुहुँदै मन्त्री चौधरीले कला, संस्कृतिमा सम्पन्न थारु जातीको इतिहास जोगाउन जरुरी रहेको बताउनुभयो । उहाँले  पूर्वदेखि पश्चिमसम्म फैलिएका थारुहरूले नेपाली भूमिको समेत सुरक्षा गरेको बताउनुहुँदै उहाँले भन्नुभयो “तपाईँहरू सङ्ग्रहालय को गुरु योजना बनाउनुहोस् । म तत्काल कार्यान्वयनमा लैजान्छु ।”

थारु समुदाय राजनीतिमा समेत अग्रसर हुन मन्त्री चौधरीले आग्रह गर्नुभयो ।

मदन पट्टी वेलफेर सोसाइटीका अध्यक्ष सुदिप कुमार चौधरीले सङ्ग्रहालय बनाउन मन्त्रीलाई ज्ञापन पत्र बुझाइएको बताउनुभयो ।

“ सङ्ग्रहालय  करिब ८ बिघामा बन्ने छ । थारु भेष भूषा, संस्कृति झल्किने सामग्रीहरूको प्रदर्शनी हुनेछ । थारु खानाका परिकारहरू उपलब्ध हुनेछन् । यसै क्षेत्रभित्र कृत्रिम ताल निर्माण गरिनेछ । विभिन्न पर्वहरू, उत्सवहरू मनाउने व्यवस्था हुने छ । यसका साथै नयाँ सांस्कृतिक तथा पर्यटकीय गन्तव्य समेत बन्ने छ ।” उहाँले भन्नुभयो 

थारु सङ्ग्रहालय को अनुमानित खर्च ६ करोड हुने बताइएको छ ।   

प्रतिक्रिया राख्नुहोस्

Back to top button