तपाईँ सुन्दै हुनुहुन्छः

धनकुटा महोत्सव माघ पहिलो सातादेखि हुने

धनकुटा । धनकुटामा माघ पहिलो सातादेखि प्रदेश स्तरीय औद्योगिक व्यापार मेला तथा कृषि प्रदर्शनी एवम् धनकुटा महोत्सव हुने भएको छ । धनकुटा उद्योग वाणिज्य संघले आइतबार धनकुटामा पत्रकार सम्मेलनको आयोजना गरेर उक्त कार्यक्रम हुने जानकारी दिएको हो । धनकुटामा भएको लघु घरेलु तथा कृषिजन्य उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यले आगामी माघ ६ गतेदेखि १६ गतेसम्म प्रदेश स्तरीय औद्योगिक व्यापार मेला तथा कृषि प्रदर्शनी एवम् धनकुटा महोत्सव हुने भएको हो।  महोत्सवमा नेपाल एकीकृत व्यापार रणनीतिमा समावेश १९ प्रकारका कृषिजन्य उत्पादित वस्तुको प्रदर्शनी गर्दै प्रदेशस्तरीय व्यापार तथा कृषि मेलाको प्रवर्द्धन गरिने धनकुटा उद्योग वाणिज्य संघका सचिव श्रीराम रायमाझीले बताउनुभयो । 

धनकुटाको टुँडिखेलमा आयोजना हुने प्रदेश १ स्तरीय औद्योगिक व्यापार मेला तथा कृषि प्रदर्शनी एवम् धनकुटा महोत्सव २०७९ मा धनकुटामा उत्पादन भएका बस्तुलाई पहिलो प्राथमिकता दिइने उहाँले बताउनुभयो । एक सय ५० स्टल राखिने महोत्सवमा एक सय ३५ वटामा घरेलु उत्पादन र १५ वटामा जातीय परिकार रहने आयोजकले जनाएको छ । महोत्सवमा एक लाख आन्तरिक तथा बाह्य पर्यटकले अवलोकन गर्ने तथा ७७ लाखको आयव्ययमा करिब ५ करोड रुपियाँको आर्थिक कारोबार हुने लक्ष्य राखिएको छ ।

प्रदेश स्तरीय औद्योगिक व्यापार मेला तथा कृषि प्रदर्शनी एवम् धनकुटा महोत्सवलाई सफल बनाउन नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल सरकार, प्रदेश सरकार र धनकुटाका सबै स्थानीय सरकार र सबै सरोकारवाला कार्यालय र संघ संस्थासँग समन्वय गरी उहाँहरूकै सहयोग र सहकार्यमा कार्यक्रम सञ्चालन गरिने अध्यक्ष विजय सन्तोषी राईले बताउनुभयो ।

धनकुटा उद्योग वाणिज्य संघले प्रत्येक तीन वर्षमा धनकुटा महोत्सव गर्दै आएकोमा कोरोनाका कारण गत वर्ष महोत्सव हुन नसकेकोले यस वर्ष महोत्सव आयोजना गर्न लागिएको अध्यक्ष राईले बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button