सुदूरपश्चिम महोत्सवमा दर्शक सहभागिता बढ्दो

धनगढी । समृद्ध सुदूरपश्चिमका लागि आर्थिक समृद्धि भन्ने मुल नारा साथ धनगढीमा सञ्चालन भइरहेको सुदूरपश्चिम महोत्सवमा दर्शकहरूको सहभागिता बढ्दो रहेको छ ।
सुदूरपश्चिमको उद्योग, व्यापार, कृषि, पर्यटन, कला संस्कृतिको सम्बद्धन गर्ने उद्देश्य सहित कैलाली उद्योग वाणिज्य सङ्घले प्रत्येक बर्ष धनगढीमा महोत्सव आयोजना गर्दै आएको छ । मङ्सिर २२ गते देखि शुरु भएको महोत्सव पुस २ गते सम्म चल्ने आयोजकले जनाएको छ । संघका अध्यक्ष पुष्पराज कुवरले विगतका भन्दा यसपालिको महोत्सवमा अवलोकन गर्न आउने दर्शकहरूको सहभागिता दिनहुँ बढ्दो रहेको र आर्थिक कारोबार समेत सन्तोषजनक रहेको बताउनुभयो । महोत्सवमा मनोरञ्जनका साथै कृषि प्रदर्शनी, स्थानीय खानपान, कलाकारको प्रस्तुतिले दर्शकहरूलाई आकर्षण गरेको देखिन्छ अध्यक्ष कुवरले भन्नुभयो सुदूरपश्चिम महोत्सव यस क्षेत्रका लागि वार्षिक क्यालेन्डर (चाडपर्व) जस्तै भएको छ ।

महोत्सवमा हालसम्म टिकट बिक्रीबाट करिब ३५ लाख बराबर आम्दानी भएको उल्लेख गर्दै कुवरले समग्रमा करिब ३ करोड बराबरको आर्थिक कारोबार भएको जानकारी दिनुभयो । महोत्सवमा कृषि उपज, खानपान, व्यापार, व्यवसाय, अटो मोवाईल्स, मनोरञ्जन लगायत गरि ४ स्टल रहेको संघका वरिष्ठ उपाध्यक्ष पुष्कर ओझाले जानकारी दिनुभयो । महोत्सव अवधिमा करिब ७ देखि १० करोड बराबरको आर्थिक कारोबार हुने अनुमान सङ्घले गरेको छ ओझाले भन्नू भयो कोरोना कहरले थलिएपछि आर्थिक मन्दी छाएको यो अवस्थामा पनि दर्शकहरूबाट अपेक्षाकृत सहयोग रहेको छ ।
टिकट र सरसामान महँगो भएको दर्शकहरूको भनाई
धनगढीमा जारी महोत्सवलाई दर्शकहरूले साथ र सहयोग गरेको देखिन्छ । महोत्सव शुरु भए देखि नै महोत्सव स्थल धनगढी उपमहानगरपालिका १ पशुपति टोल मैदान दर्शकहरूले भरिभराउ देखिन्छ । यद्यपि महोत्सवमा भेटिएका दर्शकहरूले टिकट र स्टलमा सरसामान महँगो भएको गुनासो पोखेका छन् । विगतका वर्षमा ५० रुपैयाँ प्रति टिकट थियो, यसपाली सय रुयैया तिर्नु परेको छ, यो साह्रै महँगो भयो तरपनि आफ्नै ठाउँमा आफ्नै महोत्सव भनेर हेर्न पुगियो, दर्शकहरूले भनेका छन् । यस्तै महोत्सव स्टलमा लत्ताकपडा, खानपान, रमाइलो मेलामा व्यापारीहरूले मनमर्जी भाउ लिने गरेको छ, यसतर्फ आयोजकले ध्यान दिनु पर्ने उनीहरूको भनाई छ ।
संघका महासचिव ओम विष्टले विगत महोत्सवको भन्दा यसपालि टिकट मूल्य बढाइएको स्वीकार गर्दै सवैतिर महँगी बढेकाले प्रति टिकट दर एक सय रुपैयाँ पुर्याउनु सङ्घको बाध्यता हो तर विद्यार्थीको हकमा टिकटमा ५० प्रतिशत छुटको व्यवस्था गरिएको बताउनुभयो ।







प्रतिक्रिया राख्नुहोस्